विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको भूमिका र दलित सवाल सम्बन्धी कार्यशाला सम्पन्न

अक्सफोर्ड विश्वविद्यालय बेलायत, भेरीगंगा नगरपालिका सुर्खेत, ग्रामीण स्वावलम्बन विकास केन्द्र, काठमाण्डौ र समता फाउण्डेशन ललितपुरको संलग्नतामा विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको भूमिका र दलित सवाल सम्बन्धी एक दिने कार्यशाला सुर्खेत जिल्लाको छिन्चुमा २०७९ साल चैत्र १७ गतेका दिन सम्पन्न भयो ।

समता फाउण्डेशन र अक्सफोर्ड विश्वविद्यालय, ग्रामीण स्वावलम्बन विकास केन्द्र र त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पस मिलेर सन २०२० देखि नेपालको सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सञ्चालित ‘मर्यादाको खाजीमा दलित: राज्य समाज र स्थानीय परिचालन’ सम्बन्धी विभिन्न विषयमा अध्ययन गर्दै आइरहेका छन् । यसैको एक कडीका रूपमा अक्सफोर्ड विश्वविद्यालय र समता फाउण्डेसनले  विद्यालय तहको पाठ्यक्रममा दलित विषयमा पनि अध्ययन गरेका छन् । उक्त अध्ययनमा सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकास्थित शिखर मावि, रामघाट र दैलेख जिल्लाको  नारायण नगरपालिकास्थित रेडक्रस मावि, भुर्तिमा सम्बद्ध सरोकारवालाहरू जस्तै: शिक्षक, विद्यार्थी, अभिभावक र प्रधानाध्यापकको संलग्नता र सम्बद्ध विभिन्न अध्ययन सामाग्रीको प्रयोग गरी नमूना पाठको स्थलगत परीक्षण समेत गरिएको थियो ।

परीक्षणबाट प्राप्त नतिजा एवम् प्राप्त अन्य सूचना तथा जानकारी समेतका आधारमा स्थानीय पाठ्यक्रमको कार्यान्वयनको प्रभावकारीताको अध्ययन गरिएको थियो ।

उक्त कार्यशालामा अध्ययनको कार्यप्रक्रिया र प्राप्त प्रारम्भिक सूचना एवम् पूर्व अध्यासका नतिजाहरू प्रस्तुत गरीएको थियो ।

उक्त कार्यशालमा भेरीगंगा नगरपालिका प्रमुख, वडा नं.१०, ११, र १२ का वडा अध्यक्ष, एवम् दैलेख जिल्ला नारायण नगरपालिकाका सामाजिक समितिका अध्यक्ष तथा सदस्यहरू, वडा  नं. ६ का वडा अध्यक्ष, दुवै नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् कर्णाली प्रदेशका समाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत, दुवै जिल्लाका पाठ्यसामाग्री परीक्षण गरिएका विद्यालयका प्र.अ., विषय शिक्षक लगायतका स्थानीय संघसंस्थाका प्रतिनिधि समेत गरी २५ जनाको सहभागीता रहेको थियो ।

सहभागीहरुको सामूहिक तस्बिर

यस कार्यशालको पहिलो सत्रमा स्थानीय पाठ्यक्रमसम्बन्धी नीतिगत व्यवस्था र स्थानीय तहको कार्यदिशा अन्तर्गत संघीय तहमा विद्यालयस्तरको पाठ्यक्रम निर्माणमा नीतिगत भूमिका विषयमा प्रस्तुति रहेको थियो । पाठ्यक्रम विकास केन्द्र सानो ठिमीका पूर्व निर्देशक विष्णु प्रसाद अधिकारीले पाठ्यक्रम विकास सम्बन्धी केन्द्रिय तथा प्रादेशिक अनुभव प्रस्तुत गर्नुभएको थियो भने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत श्री बलवीर सुनारले स्थानीय पाठ्यक्रम विकासका लागि प्रदेश सरकारका अभ्यास र चुनौतीसम्बन्धी सामाग्री प्रस्तुत गर्नु भएको थियो । स्थानीय तहमा पाठ्यक्रम निर्माणका अभ्यास, उपलब्धि र चुनौतीका बारेमा भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री गजेन्द्र कुमार जिसीले र नारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री पूर्ण प्रसाद उपाध्यायले आआफनो अभ्यास र अनुभव प्रस्तुत गर्नुभएको थियो । श्री जिसीले उहाँहरूले आफूले तयार पारेको स्थानीय पाठ्यक्रममा दलितका सवाल समावेश गरेको बताउनु भएको थियो ।

कार्यशालाको दोश्रो सत्रमा अक्सफोर्ड विश्वविद्यालयको तर्फबाट डा. कृष्ण अधिकारी तथा समता फाउण्डेशनका गोपाल नेपालीले विद्यालय तहको पाठ्यक्रममा दलित अध्ययनको नतिजा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तुतिमा जात, वर्ग र संस्कृति अध्ययनका आधारमा समाजमा अझै पनि जातीय छुवाछुत तथा विभेद रहेको र त्यसको न्यूनीकरणका लागि विद्यालय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा यी विषयवस्तु समावेश गर्नु परेको औचित्य पेश गरिएको थियो । साथै उपरोक्त विषयमा विद्यमान पाठ्यक्रम र पाठ्यपुस्तकमा रहेको व्यवस्थाको पुनरावलोकन गरी देखिएका राम्रा र कमजोर पक्षहरूलाई औंल्याईएको थियो । दोश्रो सत्रको अर्को चरणमा पाठ्यसामग्री परीक्षण गरिएका विद्यालयका शिक्षक तथा विद्यार्थीको प्रतिक्रिया र विद्यालयको अनुभवसम्बन्धी प्रस्तुति  र छलफल गरिएको थियो ।

तेश्रो सत्रमा  सम्बन्धित सरोकारवालाहरूको अनुभव आदानप्रदान गर्दै अध्ययनको निश्कर्ष र सुझाव उपर छलफल भएको थियो । विभिन्न महानुभावहरूले स्थानीय पाठ्यक्रमको विकास, निर्माण र कार्यान्वयनका चुनौतीका साथै दलितका सवालमा आआफनो प्रस्तुतिलाई  केन्द्रिकृत गर्नु भएको थियो । यस क्रममा दैलेखको नारायण नगरपालिका र सुर्खेतको भेरीगंगा नगरपालिकाका विद्यालयको सेवा क्षेत्रमा दलितको जनसङ्ख्या र विद्यालयमा दलित विद्यार्थीको सङ्ख्या करिब आधा जस्तै रहेकोले स्थानीय पाठ्यक्रममा दलित सवाल समावेश हुनु महत्वपूर्ण हुने निष्कर्ष समेत निकालिएको थियो ।

भेरीगंगा नगरपालिकाका प्रमुख श्री यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको उक्त कार्यशालामा अध्यक्षको मन्तव्य प्रस्तुत गर्दै श्री ढकालले भेरीगंगा नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माणका क्रममा भए गरेका प्रयास,  उपलब्ध साधन श्रोत र मौजुदा तथा भावी चुनौतिहरू प्रस्तुत गर्दै दलितका समस्या सम्बोधन गर्न नगरपालिका संवेदनशील रहेको व्यहोरा प्रस्तुत गर्नु भएको थियो । उहाँले भेरीगंगा नगरपालिकाले अक्सफोर्ड विश्वविद्यालय, आरएसडीसी, समता फाउण्डेशन लगायत डा. कृष्ण अधिकारीजस्ता राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वहरूसँग सहकार्य गर्न पाएकोमा गौरवको अनुभूति भएको उल्लेख गर्नु भयो । केन्द्रीय तहमा पाठ्यक्रम विकासका अनुभव र क्रियाकलापका बारेमा पाठ्यक्रम विज्ञबाट भएको अनुभव, प्रस्तुतिले स्थानीय पाठ्यक्रम विकास कार्यक्रम र अनुगमन तथा सहजीकरणमा महत्वपूर्ण सहयोग पुग्नुका साथै अन्तरराष्ट्रिय अभ्यास समेतबाट सिक्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक तथा विज्ञहरूप्रति आभार व्यक्त गर्नुभएको थियो ।

भेरिगंगा नगरपालिका प्रमुख

कार्यक्रममा विभिन्न वडा अध्यक्षहरूले आफ्नो अनुभव आदानप्रदान गर्दै स्थानीय पाठ्यक्रमका अभ्यास, स्थानीय समुदायका अनुभव एवम् गरीएका प्रयास एवम् दलितका समस्याका बारेमा ज्यादै रोचक र ज्वलन्त/घतलाग्दा दृष्टान्तहरू प्रस्तुत गर्नुभएको थियो । यस कार्यक्रममा दैलेख नारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री जनक प्रसाद न्यौपानेले विद्यालयमा दलित विद्यार्थीको शिक्षाका लागि गरीएका छात्रवृत्ति लगायतका विभिन्न सेवा सुविधाका लागि गरेका  प्रयास र सहजीकरणका उपायहरू उल्लेख गर्दै दलित विद्यार्थीको सिकाई र टिकाईका बारेमा रहेका चुनौती प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी, भेरीगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष श्री जयबहादुर सुनारले दलित समुदायले ब्यहोर्दै आएका सामाजिक समस्या प्रस्तुत गर्दै दलित विद्यार्थीको भर्ना नियमितता र शैक्षिक गुणस्तरका बारेमा रहेका चुनौती बारे प्रकाश पार्नु भएको थियो। उहाँले पालिकाले स्थानीय पाठ्यक्रम लगायत अन्य क्षेत्रमा दलित केन्द्रित कार्यक्रममा जोड दिनु पर्ने कुरा औँल्याउनु भएको थियो ।

उक्त कार्यक्रमको उद्देश्यमाथि आरएसडिसीका कार्यकारी निर्देशक शिवप्रसाद बस्यालले प्रकाश पार्दै कार्यशालाका समग्र अतिथि, विज्ञ र सहभागीलाई स्वागत गर्नु भएको थियो । सो क्रममा आरएसडिसीले गरेका असल अभ्यासहरू समेत प्रस्तुत गर्दै यो सहकार्यको अवसरका लागि स्थानीय पालिकालाई आभार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममको अन्त्यमा सामुहिक छलफल गर्दै सहभागीहरूबाट आआफना विचारहरू प्रस्तुत भएका थिए । छलफलबाट विविधतायुक्त समाजमा ‘Think Globally, act locally’ भन्ने अवधारणलाई कार्य व्यवहारमा उतार्नु पर्ने, रैथाने ज्ञान, सीप र प्रविधिलाई स्थानीयकरण गर्दै क्रमश: राष्ट्रिय र विश्वव्यापीकरण गर्नु आवश्यक भएको महसुस भएको विचार व्यक्त गरीएको थियो । स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्य अनुभव नभएको सन्दर्भमा कार्याशालाबाट केन्द्रीय तह र स्थानीय तहमा पाठ्यक्रम निर्माणका लागि मनोबल बढनुका साथै, यसले पाठ्यक्रम विकास, कार्यान्वयन र सहजीकरणका लागि क्षमता विकासमा सहयोग पुगेको अनुभव बाँडिएको थियो । दुवै नगरपालिकाका जनसांखिक बनोट हेर्दा दलित समुदायको बाहुल्यता रहेकोले स्थानीय पाठ्यक्रममा दलितका सवाललाई सम्बोधन गर्ने प्रतिवद्धता स्थानीय सरोकारवालाबाट व्यक्त गरीएको थियो ।

तथापि स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनका लागि पर्याप्त साधन श्रोत उपलब्ध नहुनु र पाठ्यक्रम तथा पाठ्यसामाग्री विकास, छपाई तथा प्रयोग गर्न आर्थिक र प्राविधिक क्षमताको कमी हुनुले अपेक्षित रूपमा काम गर्न नसकिएको तीतो यथार्थ प्रस्तुत गर्दै आगामी दिनमा संघीय तथा प्रादेशिक तहबाट स्पष्ट नीतिगत व्यवस्थासहित पर्याप्त बजेट र क्षमता विकासका कार्यक्रममा जोड दिनु पर्ने; र स्थानीय तहले पनि भौतिक विकास भन्दा गुणात्मक विकासका लागि स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको विकास, तथा योजना कार्यान्वयन गर्न पर्याप्त साधन श्रोत र बजेटको व्यवस्था गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको थियो । साथै यस्ता कार्यक्रमले आगामी दिनहरूमा निरन्तरता पाउनु पर्ने विचार पनि व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।

विष्णु प्रसाद अधिकारी, सुर्खेत