जात, वर्ग र संस्कृति कार्यशाला कार्यक्रम सञ्चालन प्रतिवेदन
नेपालको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश विशेष सांस्कृतिक प्रदेशका रूपमा परिचित छन् । यी प्रदेशहरूमा समाज र संस्कृतिमा पाइने विशिष्टतालाई केन्द्रमा राखेर विभिन्न प्रकारका अध्ययन अनुसन्धान हुने गरेको पाइन्छ । त्यस्तै अध्ययनको सिलसिलामा अक्सफोर्ड विश्वविद्यालय, सामाजिक तथा सांस्कृतिक मानवशास्त्र अध्ययन संस्थानको र सुदूरपश्चिम विश्वविद्यालयद्वारा संयुक्तरूपमा आयोजित “आत्मसम्मानको खोजीमा दलित : सुदूर पश्चिममा राज्य, समाज र स्थानीय परिचालन’ विषयक प्रारम्भिक नतिजा प्रस्तुति, पृष्ठपोषण तथा नीति संवाद कार्यशाला सञ्चालन भएको छ । धनगढीस्थित होटल आस्थामा २०७९ साल चैत्र २७ गते आयोजित उक्त कार्यक्रमको सोध साझेदार संस्थाका रूपमा ग्रामीण स्वावलम्बन विकास केन्द्र, काठमाडौं, समता फाउण्डेसन, ललितपुर र पृथ्वी नारायण क्याम्पस पोखरा रहेका थिए । उक्त कार्यक्रमलाई ब्रिटिश एकेडेमी र अक्सफोर्ड विश्वविद्यालयको अल सोल कलेजको आर्थिक सहयोग रहेको थियो ।
यो कार्यक्रम मूलतः निम्नलिखित पाँच चरणमा सञ्चालन भएको थियोः
१. उद्घाटन सत्र : कार्यक्रमको परिचय उद्देश्यमाथि प्रकाश र मन्तव्य
२. दोस्रो सत्रः जात, वर्ग र संस्कृति सर्वेक्षण: प्रारम्भिक शोध, सारांश प्रस्तुति
३. तेस्रो सत्र : मर्यादाको खोजीमा दलितः राज्य, समाज र स्थानीय परिचालन- मामिला प्रस्तुति अन्तर्गत, (क) जातीय, आर्थिक, सामाजिक सम्बन्ध र हलिया मुक्ति कार्यक्रम / (ख) दलित र गैरदलित अन्तरजातीय विवाह, समावेशिता र सहभागिताका अभ्यासहरू
४. चौथो सत्र: यसमा संघीयतामा विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको भूमिका र दलित सवाल
५. पाँचौं सत्र : समापन सत्र । यस सत्रमा टिप्पणी तथा मन्तव्य व्यक्त गरिएका थिए।
यसरी मूलतः ५ सत्रमा सञ्चालित कार्यक्रममा विभिन्न प्रकारका प्रस्तुति र छलफल गरिएको थियो।
पहिलो सत्र
पहिलो उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक अमरराज जोशीले गर्नुभएको थियो र प्रमुख अतिथि सुदूर सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय देवराज जोशी रहनुभएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्य माथि पृथ्वीनारायण क्याम्पस पोखराका तर्फबाट अञ्चला चौधरी पोखरेलले प्रकाश पार्नुभएको थियो । यस सत्रमा शोधको मुख्य उद्देश्य, गरिएका कार्य र गतिविधि तथा प्राप्त प्रारम्भिक नतिजाको प्रस्तुति अक्सफोर्ड विश्वविद्यालयका परियोजना सहनिर्देशक डा. कृष्ण प्रसाद अधिकारीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै माननीय देवराज जोशीले यस प्रकारको अध्ययनबाट प्रदेश सरकार एवं विश्वविद्यालयहरूलाई उपयोगी हुने विश्वास व्यक्त गर्दै अध्ययनको प्राप्ति र निष्कर्ष व्यवहारमा उतार्नका लागि सम्बद्ध सबैसँग आग्रह गर्नुभयो । त्यस्तै अध्यक्षको आसनबाट समापन मन्तव्य राख्दै प्राध्यापक अम्मरराज जोशीले यस अनुसन्धानबाट सुदूरपश्चिमको वास्तविकताको उजागर हुने भएकाले सिङ्गो सुदूरपश्चिम प्रदेशका लागि यो अध्ययन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । अध्ययनबाट निस्केको सारको प्रस्तुतिउपर उपयुक्त पृष्ठपोषण प्रदान गर्न आग्रह गर्दै आएका तथ्यपरक विचार र तर्कलाई अध्येताले मनन गर्न अनुरोध समेत गर्नुभयो । अध्ययनबाट प्राप्त भएका तथ्य वा प्राप्तिहरू तथ्यपरक र असंगत भए उपयुक्त सुझाव दिन अनुरोध गर्दै सुदूरपश्चिम प्रदेशको संस्कृतिमा धेरै राम्रा सांस्कृतिक पक्ष हुँदाहुँदै पनि केही नराम्रा र सुधारयोग्य पक्षहरू समेत रहेकाले तिनको निराकरणका लागि प्रदेश सरकार तथा विश्वविद्यालयले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । अध्ययनले ज्ञानलाई उत्सर्जन गर्दै समाजका अगाडि राखिदिएपछि नीति निर्माताहरूले उक्त ज्ञानलाई आधार मानेर नीति कार्यक्रम र योजना सञ्चालन गरेमा राम्रा पक्ष झन् सफल हुँदै जाने र नराम्रा र खराब पक्षहरू सुधार गर्न सकिने भन्दै यस अध्ययनबाट प्राप्त परिमाणात्मक र गुणात्मक तथ्याङ्कहरू स्वीकार्य हुने नहुने परिदृश्य स्पष्ट हुने बताउनुभयो । जेहोस् हाम्रो समाजमा रहेका कतिपय नराम्रा पक्षको निराकरणका लागि यो अध्ययन मार्गदर्शक हुन सकोस् र समाजलाई अग्र दिशा प्रदान गर्न सहयोग पुर्याओस् भन्ने शुभेच्छासहित आफ्नो मन्तव्यको अन्त गर्नुभएको थियो।
प्रस्तुति र छलफल
दोस्रो सत्र
दोस्रो सत्रमा जात, वर्ग र संस्कृतिसम्बन्धी सर्वेक्षणको प्रारम्भिक सोध सारांश (बझाङ र बाँकेका केही छानिएका विषयमात्र) प्रस्तुति गरिएको थियो । यो सत्रको अध्यक्षता कैलाली बहुमुखी क्याम्पस प्रमुख प्रा. धर्मराज उपाध्यायबाट भएको थियो । शोध सारको प्रस्तुति अक्सफोर्ड विश्वविद्यालयका डा. कृष्ण अधिकारीबाट भएको थियो । उहाँले बझाङ र बाँके जिल्लामा गरिएको प्रश्नावलीका आधारमा प्राप्त तथ्याङ्कका आधारमा प्रारम्भिक नतिजा आएको उल्लेख गर्नुभएको थियो । उक्त प्रस्तुतिको बारेमा सहभागीहरूबाट विभिन्न कोणबाट प्रश्न उत्तर गरी छलफलसमेत गरी पृष्ठपोषण लिइएको थियो।
तेस्रो सत्र
तेस्रो सत्रमा ‘मर्यादाको खोजीमा दलितः राज्य, समाज र स्थानीय परिचालन विषयक प्रस्तुतिमध्ये अञ्चला चौधरी पोखरेल, प्राध्यापक विश्वकल्याण पराजुली र गोपाल नेपालीले महिलाका मर्यादा (बादी) को अभियानसम्बन्धी प्रस्तुति गर्नुभएको थियो । यसै गरी अर्को शीर्षक मर्यादित छाउपडी व्यवहार र प्रतिरोध सम्बन्धी अध्ययनको प्रस्तुति पनि अञ्चला चौधरी पोखरेल र प्रा. विश्वकल्याण पराजुलीले गर्नुभएको थियो ।
त्यसैगरी अन्तरजातीय आर्थिक सामाजिक सम्बन्धसम्बन्धी अध्ययन अन्तर्गत हलिया मुक्ति कार्यक्रम र रूपान्तरण विषयमा पनि प्राध्यापक विश्वकल्याण पराजुली र अञ्चला चौधरीको प्रस्तुति रहेको थियो । त्यस्तै दलित गैरदलित अन्तरजातीय विवाहअन्तर्गत बिटालुको अध्ययन बारेमा तिलक विश्वकर्माको प्रस्तुति रहेको थियो । साथै तिलक विश्वकर्माले सहकारी र राजनीतिमा दलितको सहभागिता कस्तो छ भन्ने विषयमा प्रस्तुत गर्नुभएको थियो। त्यसपछि सहभागीहरूबाट पेचिला सवालहरू पनि आएका थिए । प्रस्तुतिहरूले उजागार गरेका दलितको ऐतिहासिक पृष्ठभूमि, दलित पहिचान र वर्तमान अवस्था एवं सुषुप्त रूपमा हुने गरेको प्रतिरोध र केही हदसम्म भएका सुधारका स्वरूपलाई सम्बोधन गर्ने जमर्को, बारेमा चिरफार गर्ने प्रयास गरिएको थियो ।
त्यस्तै अर्को विषय साहित्य र इतिहासमा प्रतिनिधित्व सम्बन्धी थियो । यसमा प्राध्यापक माइकल हटले गर्नुभएको नेपाली साहित्यमा दलितको प्रतिनिधित्वका बारेमा र ऐतिहासिक अभिलेखहरूमा दलितको प्रतिनिधित्वबारे बसन्त महर्जनको प्रस्तुति रहेको थियो। उहाँहरूको प्रस्तुतिका सम्बन्धमा कतिपय सहभागीहरूले इतिहास जित्नेहरूको लेखिने परम्परा रहेकाले दलितका सवालमा आएका केही ऐतिहासिक तथ्यहरू परिमार्जनयोग्य रहेका तर्कहरू पनि प्रस्तुत गर्नु भएको थियो । वास्तवमा अहिले पढिने लेखिने गरिएको इतिहासमा दलित कुरा उल्लेख नगर्दासम्म इतिहास अपूरो हुने तर्क छलफलमा उठेका थिए।
चौथो सत्र
चौथो सत्रमा मूलत अघिल्ला सत्रका शीर्षकहरूमा गरिएका प्रस्तुति र छलफलकामा उठेका सवालहरू सम्बोधनका सन्दर्भमा संघीय प्रादेशिक र स्थानीय तहमा शिक्षा, पाठ्यक्रम निर्माण र कार्यन्वयनमा भएका नीतिगत प्रावधान एवम् भए गरेका र गर्न सकिने कार्य प्रवन्धका बारेमा प्रस्तुति र सवालजवाफ गरिएको थियो । यस सत्रको पहिलो प्रस्तुतिको मुख्य शीर्षक संघीयतामा विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको भूमिका र दलित सवाल रहेको थियो । यस सत्रको अध्यक्षता सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा संकायका डीन डा. भवानसिंह चलाउनेबाट भएको थियो ।
यस सत्रको प्रारम्भमा पाठ्यक्रम विज्ञका रूपमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका पूर्व निर्देशक विष्णुप्रसाद अधिकारीले संघीयतामा विद्यालयस्तरको पाठ्यक्रम निर्माणमा नीतिगत भूमिका सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । यस प्रस्तुतिमा मौजुदा शिक्षा ऐन, नियम एवं राष्ट्रिय शिक्षा नीति २०७६ तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ सहित विद्यमान नीतिगत प्रावधान र मौजुदा संघीय अभ्यासका बारेमा प्रस्तुति गरिएको थियो । साथै संघीय नीतिअनुसार प्रादेशिक तथा मूलत स्थानीय तहमा गर्न सकिने पाठ्यक्रम विकास र कार्यान्वयन सम्बन्धी प्रावधानहरू र कतिपय पालिकाले गरेका राम्रा अभ्यासका दृष्टान्त प्रस्तुत गरिएको थियो।
यस सत्रको अर्को खण्डमा विद्यालय तहको पाठ्यक्रममा दलितसम्बन्धी अनुभव र नतिजा, अनि अध्ययनको औचित्य र विद्यालय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकको पुनरावलोकन सम्बन्धी अध्ययनका नातिजाहरू डा. कृष्ण अधिकारी र गोपाल नेपालीले प्रस्तुति दिनुभएको थियो । यस प्रस्तुतिमा मौजुदा पाठ्यक्रम र पाठ्यपुस्तकमा दलितसम्बन्धी प्रतिनिधित्वको अवस्थाका बारेमा विगतका अभ्याससहित वर्तमान समयका पाठ्यक्रम र पाठ्यपुस्तकको तुलनात्मक प्रस्तुति गरिएको थियो।
पाठ्यक्रम सम्बन्धी स्थानीय तहको अभ्यास र अनुभव प्रस्तुत गर्ने क्रममा खप्तडछान्ना गाउँपालिकाका स्रोत व्यक्ति खड्कराज जोशी तथा नेपालगञ्ज उपमहानगरपालिकाका तर्फबाट डिल्ली आचार्यले आफ्ना पालिकाले गरेका अभ्यास र अनुभव आदानप्रदान गर्नुभएको थियो । उहाँहरूले आफ्नो पालिकामा स्थानीय पाठ्यक्रम निर्माण भएका प्रयासका अतिरिक्त स्थानीय तहमा साधन स्रोतको न्यूनता र विज्ञहरूको अभावमा बेहोरिएका चुनौती एवं कार्यान्वयन तहमा देखिएका समस्या उजागर गर्नुभएको थियो ।
यसै क्रममा पाठ्यक्रमको अभ्यास सम्बन्धमा विद्यालयका अनुभव सुनाउँदै बाँकेको नेपालगंजस्थित आदर्श माविका शिक्षक नोखिराम लामिछाने र बझाङको महेश्वरी मावि खप्तडछान्नाका शिक्षक वाल्मीकी प्रसाद जोशीले विद्यालयमा हुने गरेका दलितसम्बन्धी व्यवहार र सुधारका प्रयासका बारेमा प्रस्तुति गर्नुभएको थियो। आफ्नो टिप्पणी राख्दै खप्तडछान्ना वडा नम्बर ७ का वडा अध्यक्ष एवं सो पालिकाका सामाजिक विकास समितिका अध्यक्ष रमानन्द जोशीले आफूले गैरसरकारी संस्थामा काम गर्दा बझाङका विभिन्न ठाउँमा पुगेको अनुभव लिएको बताउनु भएको थियो। उहाँले दलित बालबालिकाको शिक्षाका लागि राम्रा प्रयास भएका तर दलित अभिभावकमा शिक्षाप्रतिको लगाव र प्रतिवद्धता न्यून रहेको, शिक्षा प्राप्ति प्राथमिकतामा नपर्दा बिचमा पढाइ छाड्ने प्रवृत्तिले निकै समस्या ल्याएको कुरा राख्नुभयो । उहाँले शिक्षासँगै अभिभावकको आयआर्जनका कार्यक्रम एकीकृत गर्नुपर्ने कुरामा विशेष जोड दिनुभएको थियो।
छलफलमा दलित शिक्षाका सम्बन्धमा विगतभन्दा वर्तमानमा केही सुधारका संकेत भए पनि परिवर्तन मात्रात्मक भएको तर गुणात्मक र ज्यामितीय परिवर्तन आवश्यक भएको निष्कर्ष निकालिएको थियो । यस सत्रको अन्ततिर सुदूरपश्चिमका प्रदेश सांसद माननीय ललिता सुनारले प्रदेश स्तरका अनुभव र विचार प्रस्तुत गर्दै दलितको मोजुदा अवस्थामा नीतिगत र कार्यगत हस्तक्षेप गर्न सक्ने कुरामा आवश्यक सुझाव दिन अनुरोध गर्दै आफ्नो क्षेत्रबाट दलित शिक्षा र दलित सवालको बारेमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले यसप्रकारको अध्ययनका लागि अध्येताहरूप्रति आभार व्यक्त गर्दै वास्तविकता उजागर गरी गर्नुपर्ने कार्यका बारेमा ठोस सुझाव दिन पनि अनुरोध गर्नुभएको थियो।
यस सत्रको अन्तमा गोपाल नेपाली र डा. कृष्ण अधिकारीले विद्यालय तहको पाठ्यक्रममा दलित विषयमा विभिन्न विद्यालयहरूमा गरिएको परीक्षणका अनुभव र नतिजा प्रस्तुत गर्नु भएको थियो ।
पाँचौं सत्र (समापन सत्र)
यस कार्यक्रमको अन्तिम सत्रका रूपमा समापन कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन सुदूरपश्चिम विश्वविद्यालयका डा. दिपकचन्द्र भट्टले गर्नुभएको थियो। अध्ययन परियोजनाका सहशोधकर्ता प्राध्यापक विश्वकल्याण पराजुलीले अध्यक्षता गर्नुभएको यस सत्रमा सुदूरपश्चिम प्रदेशका सभामुख माननीय भीमबहादुर भण्डारी प्रमुख अतिथि हुनु हुन्थ्यो ।
प्रमुख अतिथिको मन्तव्य दिँदै माननीय भीम बहादुर भण्डारीले नेपालमा नीति बन्ने तर प्रभावकारी कार्यान्वयन नहुने समस्या रहेको उल्लेख गर्नुभएको थियो । उहाँले आजको कार्यक्रममा विभिन्न सवाल र मुद्दाहरूको लक्ष्यसहित उजागर भएको र सुदूरपश्चिम प्रदेशको वास्तविकता प्रदर्शित भएको महसुस भएको विचार व्यक्त पर्नुभयो। सुदूरपश्चिमको हरेक समस्याको मूल जड अर्थव्यवस्थासँग जोडिने भएकाले प्रत्येक सवाललाई समाधान गर्न आर्थिक विषय महत्वपूर्ण हुने गरेको अनुभव बताउनु भयो । मन्तव्यका क्रममा यस प्रकारको अध्ययनबाट सुदूरपश्चिममा रहेको दलित लगायत अन्य सामाजिक समस्या समाधानमा ठोस सुझाव प्राप्त हुने विश्वास गर्दै कार्यान्वयनका लागि आफ्ना तर्फबाट गर्नसक्ने कार्य गर्न तयार रहेको विचार व्यक्त गर्नुभएको थियो ।
उक्त सत्रको समापन मन्तव्य दिँदै यस सत्रका अध्यक्ष प्राध्यापक विश्वकल्याण पराजुलीले अनुसन्धानको उद्देश्य मूलतः ज्ञान बढाउनु हो, तर ज्ञानको भारी बोकाउनु होइन भन्दै अनुसन्धानले व्यावहारिक समस्या समाधानमा सहयोग गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अध्ययनमा खटिने सम्पूर्ण शोधकर्ता एवं कार्यक्षेत्रमा खटिने सबैप्रति सम्मान प्रकट गर्दै आजको कार्यक्रममा जम्मा ११ वटा विषय प्रस्तुत भएको र छोटो समयमा यति धेरै प्रस्तुति गर्नु पर्दा विस्तृत रूपमा तथ्याङ्क र सूचना प्रस्तुत गर्न नसकेको उल्लेख गर्दै जे जति प्रस्तुत भयो त्यसउपर भएको टप्पणी र छलफलले शोधकर्ताहरूलाई पृष्ठपोषण प्राप्त भएको विचार व्यक्त गर्नुभयो । उहाँले माननीय सभामुख, प्रदेश प्रमुख, विश्वविद्यालयका उपकुलपति, क्याम्पस प्रमुख, प्राध्यापक साथीहरू, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहहरू, पाठ्यक्रमविज्ञ लगायत कर्मचारी र शिक्षक मित्रहरूको सक्रिय सहभागिता र प्राथमिकताप्रति सोधकर्ताहरूको तर्फबाट आभार व्यक्त गर्नुभयो । यस अध्ययनबाट प्राप्त नतिजा, निष्कर्ष र अनुभवहरू कार्यान्वयन गरी सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउने क्रममा एकताबद्ध भएर सामूहिक प्रयास गर्न अनुरोध गर्दै आफूहरूले जतिसक्दो यथार्थ तथ्याङ्कसहित शोध प्रतिवेदन प्रस्तुत गर्ने प्रतिवद्धता जनाउनुभयो । वास्तवमा सुदूरपश्चिममा बादी, मुक्त कमैया हलिया र दलितसम्बद्ध अन्य सामाजिक विकृतिले समुदायलाई कलङ्कित गर्ने प्रयास भएकोले सम्बद्ध सबैले यसतर्फ विशेष चासो दिन आवश्यक भएको उल्लेख गर्नुभयो । आजको कार्यक्रमको प्रमुख अतिथि, सबै सत्रका अध्यक्षता गर्ने महानुभावहरू, प्रस्तोताहरू र आफ्ना विचार प्रस्तुत गर्ने अतिथिहरू लगायत सम्पूर्ण सहभागी मित्रहरूलाई धन्यवाद व्यक्त गर्दै सुदूरपश्चिम विश्वविद्यालयले यस कार्यक्रमका निम्ति दिएको प्राथमिकताप्रति उच्च सम्मानसहित कृतज्ञता ज्ञापन गर्दछु भन्नु भयो ।
मन्तव्यको अन्तमा पाठ्यक्रम विकास केन्द्रका पूर्व निर्देशकले आफूले आर्जन गरेका पाठ्यक्रम विकास र कार्यान्वयनका अनुभव प्रदेश तथा स्थानीय तहका सरकारलाई स्थानीय मुद्दा र समस्याको सम्बोधनकाका लागि स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयनका निम्ति मार्गनिर्देश गरेको ठान्दै अन्तमा बेलायत बसेर पनि नेपाली समाजको चिरफार र रूपान्तरणका लागि नेपाललाई नै कार्यक्षेत्र बनाएर अहोरात्र खट्नु भएका डा. कृष्णप्रसाद अधिकारीप्रति विशेष धन्यवाद प्रकट गर्नुभयो। साथै अध्ययन तथा आजको कार्यक्रम आयोजनामा भित्री तहमा पुगेर निरन्तर सहयोग पुर्याउने समता फाउण्डेसनका गोपाल नेपाली पनि धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो। अन्तमा आज प्रस्तुत गरिएका सुझाव र पृष्ठपोषणसमेत समावेश गरी अध्ययन प्रतिवेदन तयार गर्ने प्रतिबद्धतासहित उक्त प्रतिवेदन कार्यान्वयन गर्न विश्वविद्यालय प्रदेश सरकार, स्थानीय सरकार एवं स्थानीय विद्यालय र सम्बद्ध समुदाय सफल हुन सकोस् भन्ने शुभकामना सहित कार्यक्रम समापन गर्नुभएको थियो।