बादी आवाज : इतिहास हरण गरी ‘देहव्यापारी’ बनाइयो

बादी आवाज : इतिहास हरण गरी ‘देहव्यापारी’ बनाइयो

आत्मसम्मान र पुनर्स्थापनाको माग गर्दै ३१ साउन ०६४ मा पत्रकार सम्मेलन गरी सुरु भएको बादी आन्दोलन ४८ दिनसम्म चल्यो । ५ भदौमा बादी महिलाले सिंहदरबार गेटमा अर्धनग्न प्रदर्शन नै गरेर आन्दोलन चर्काए ।त्यसपछि सरकार र आन्दोलनकारीबीच २८ असोज ०६४ मा दुईबुँदे सम्झौता भयो । सम्झौताअनुरूप २३ पुस ०६५ मा मन्त्रिपरिषद्को बैठकले बादी समुदायलाई ‘यौनशोषणमुक्त समुदाय’ घोषणा गर्‍यो । तर, घोषणा भएको एक दशक बितिसक्दा पनि आत्मसम्मानको प्रत्याभूति र पुनर्स्थापनाको काम नभएको बादी समुदायको भनाइ छ । सरकारले ‘यौनशोषणमुक्त समुदाय’ घोषणा गरेको १३ वर्ष पुगेको सन्दर्भमा ‘झन् नयाँ’ले ‘बादी समुदाय विशेष’ सामग्री प्रकाशित गरेको छ:

हिन्दू वर्णाश्रम व्यवस्थामा आधारित समाजमा जुन समुदायसँग कला र सीप छ, त्यही समुदायलाई अछुत बनाइयो । शासकहरूले जातीय तहगत संरचना बनाई कलाका धनी समुदायलाई ऐतिहासिककालदेखि नै थिचोमिचो गर्‍यो । त्यही संरचनागत थिचाइको पिँधमा रहेको समुदाय हो, बादी जाति । बादी कला, सीप र पेसाले निपूर्ण जाति हो । इतिहासमा बादी जातिको पहिचान सम्मानित थियो ।

बादीहरूको संगत राजा महाराजाहरूसँग हुने भएकाले उनीहरूको जीवनशैली उच्चकोटीको थियो । बादी जातिको मुख्य पेसा काठ तथा छालाबाट वाद्यवादनका साधन बनाउनु हो । मादल, बाउँ, तबला, ढोल, डमरु, सारंगी आदि बनाउने, बजाउने, बिक्री गर्ने, माटाका सामग्रीहरू बनाउने, साट्ने, माछा मार्ने, टडिया बनाउने, लोकगीतसंगीत, लोकनृत्यद्वारा राजादेखि रैतीसम्मलाई मनोरञ्जन प्रदान गर्ने जाति हो बादी । बादीको गीतसंगीत राजामहाराजाको सवारीमा शुभ साइतका रूपमा लिइन्थ्यो ।

राज्य एकीकरणपछि राजामहाराजले बादी जातिलाई काम नलाग्ने वस्तुसरह छाडिदिए । त्यसपछि बादीहरूको घुमन्ते जीवन सुरु भयो । घुमन्ते जीवन बिताइरहँदा पनि बादीहरूले आफ्नो संस्कार, परम्परा र संस्कृतिलाई भुलेनन् । उनीहरू महाभारत र रामायणका कथा भन्दै, राजामहाराजाहरूको वीरगाथाहरू सुनाउँदै एक गाउँबाट अर्काे गाउँ डुल्न थाले ।

आफ्नो कला र गलामार्फत राजा, रजौटा र सामान्तहरूलाई मनोरञ्जन दिइरहे । परिवर्तित समयसँगै बादी जातिले आफ्नो जीवनशैली परिवर्तन गर्न खोजे पनि समाजले उनीहरूलाई परिवर्तन हुन दिएन । उनीहरूलाई घृणित पेसा अँगाल्न बाध्य पारिरहे । यसले एकातिर छुवाछुतजस्तो अपराधलाई प्रश्रय दियो भने अर्काेतिर एउटा कलाको धनी जातिमाथि दासता लाद्ने काम निरन्तर भइरह्यो ।

राजामहाराजा, सामन्त र ठालुहरूले बादी जातिलाई गलत पहिचानको भारी बोकाई समाजमा अपमानित जीवन बाँच्न बाध्य बनाइरहे । सन् १९८५ तिर बादी समुदायबारे अध्ययन गरेका मानवशास्त्री थाँमस कोक्सका अनुसार बादीलाई दलित जातिका रूपमा लिइन्थ्यो र बादी महिलालाई अक्सर वेश्यावृत्ति गर्ने महिलाका रूपमा वर्णन गरिन्थ्यो । इतिहासमा बादीले पश्चिम नेपालका साना राज्य र शासकहरूको संरक्षणमा मनोरञ्जन दिने काम गरे । पछि गायन र नाचको माग घट्यो र उनीहरू संरक्षकविहीन हुन थाले ।

यसरी नष्ट गरियो पहिचान
जब बादीहरूलाई घुुमन्ते जीवनशैलीमा पुर्‍याइयो, तब गाउँका मुखिया, जिम्मावाल, प्रधान, घाडबुढा वा गाउँका ठूलाबडाले बादी महिलाप्रति कुदृष्टि लगाउन थाले । नाचगानबाट मनोरञ्जन लिनुका साथै उनीहरूको शरीरको मोल तोक्न थाले । जसको परिणाम कालान्तरमा सिंगो बादी जातिलाई नै ‘देहव्यापार’ गर्ने समुदायका रूपमा कलंकित गरियो । यसरी सामाजिक बेइजतीको टीका लगाइदिएपछि बादीको इतिहास छोपियो ।

राज्यका विभिन्न अंगमा प्रवेश नै गर्न दिइएन । पहिचान नष्ट गरी किनारामा धकेलिदियो । जसका कारण बादी जाति गरिबी, अभाव र भोगसँग जुध्न थाले । अछुत त्यसमाथि ‘देहव्यापार’ गर्ने समुदाय भनेपछि उत्पादनका साधन र स्रोतबाट पूरै वञ्चित गरी स्वामित्वविहीन बनाइयो । त्यसपछि बादीलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतका सबै क्षेत्रमा पछाडि पारियो ।

सन् १९८५ मा बादी समुदायबारे अध्ययन गरेका मानवशास्त्री थाँमस कोक्सका अनुसार, पहिला बादी महिलाले संरक्षकसँग मात्रै यौनसम्पर्क राख्थे । पछि ‘वेश्यावृत्ति’का रूपमा लिइन थाल्यो र उनीहरूको जातीय ‘पेसा’कै रूपमा व्याख्या गर्न थालियो ।

यसरी ‘देहव्यापारी’ बनाइयो
आज समाजमा बादी शब्द सुन्नेबित्तिकै गैरबादीको अनुहारको आकृति बदलिन्छ । समाजले उसको मानसिकतामा थोपरेको घृणा अनुहारमा झल्किन्छ । तर, बादी समुदायको वास्तविक इतिहास के हो ? पहिचान के हो ? यसबारे कसैले सोच्दैनन् । केवल ‘देहव्यापारी’को चित्र दिमागमा बोकेर हिँड्छन् । यसो हुनुको कारण सामाजिक संरचना र यसलाई मलजल गर्ने साहित्य, शिक्षा तथा राजनीतिक विचार नै हो ।

नेपालमा वेश्यावृत्तिसम्बन्धी धेरै लेखोटहरूमा बादी महिलालाई ‘देहव्यापारी’का रूपमा चित्रण गरिएको छ । सबै बादी केटीहरू ‘वेश्या’ बन्छन् र टुहुरा बच्चाहरू जन्माउँछन् भन्ने गलत धारणा व्यापक पारियो । जब कि ५ प्रतिशत बादी महिला मात्रै बाध्यात्मक यौन क्रियाकलापमा संलग्न छन् । बादी युवाहरू यस धारणाको विरुद्ध उभिँदा पुरुषहरूचाहिँ हिंसात्मक हुन्छन् भन्ने धारणा स्थापित गरियो । सिंगो बादी समुदायलाई नै ‘वेश्या जाति’ भनियो ।

बादी महिलाहरू बलात्कृत हुँदा प्रहरीले बलात्कारको मुद्दा दर्ता गर्न मान्दैनन् । प्रहरीको मान्यता छ, ‘वेश्याहरू बलात्कृत हुँदैनन् ।’ बादी महिलाहरू नगरपालिका, गाउँपालिकामा विवाह दर्ता गर्न जान्छन् । त्यहाँ पनि उनीहरूले अपमान भोग्नुपर्छ । धेरै बादी बच्चाहरूलाई नागरिकता र जन्मदर्ता दिइँदैन । नागरिकता र जन्मदर्ता नहुने मानिस अनागरिक मानिन्छ । बादी बच्चाहरू अनागरिक नै बाँच्न बाध्य हुन्छन् ।

बादी समुदायभित्र केही अन्तर्जातीय विवाह पनि हुने गरेको छ । तर, बादी महिलासँग विवाह गर्ने अन्य जातिका धेरैजसो पुरुषले आफ्ना श्रीमतीको अघिल्तिर मालिकको जस्तो व्यवहार गर्न छाड्दैनन् र कहिल्यै घर पनि लाँदैनन् । जब महिलाले बच्चा जन्माउँछिन् त्यसपछि जन्मदर्ता दिँदैनन् । ठूलो भएपछि नागरिकता पाउँदैनन् । बादी महिलाबारे न मूलधारका भनिएका महिलावादीहरू बोल्छन्, न समाज सुधार गर्छु भन्नेहरू बोल्छन् । यसरी बादी समुदाय अन्यायको चक्रमा निरन्तर घुमिरहेको छ ।

आज समाजमा बादी शब्द सुन्नेबित्तिकै गैरबादीको अनुहारको आकृति बदलिन्छ । समाजले उसको मानसिकतामा थोपरेको घृणा अनुहारमा झल्किन्छ । तर, बादी समुदायको वास्तविक इतिहास के हो ? पहिचान के हो ? यसबारे कसैले सोच्दैनन् । केवल ‘देहव्यापारी’को चित्र दिमागमा बोकेर हिँड्छन् ।

यौन व्यापारीको पगरी भिराएर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सामाजिक जीवनका हरेक क्षेत्रमा बन्देज गरी बादीहरूको आत्मबल नै कमजोर पारिएको छ । ‘बादी जातिमा पुरुष नै हुँदैनन्, यो जातिमा महिला मात्र हुन्छन् र उनीहरूको मुख्य पेसा नै यौन व्यवसाय हो’ भन्नेजस्ता गलत मान्यता स्थापित गर्न नेपाली समाज तल्लीन छ । कुल जनसंख्यामध्ये केवल ५ प्रतिशत बादी महिलाहरू मात्रै बाध्यात्मक यौन क्रियाकपालमा संलग्न छन् । यसैलाई आधार बनाएर सिंगो जातिलाई नै कलंकित बनाउनु सामाजिक न्यायको दृष्टिले पनि न्यायसंगत छैन ।

कला साहित्यमा बादी चित्रण
बादी जातिबारे अहिलेसम्म लेखिएका पुस्तक, अध्ययन अनुसन्धानका प्रतिवेदन, विभिन्न साहित्यिक पुस्तकहरू तथा लेख रचनामा बादी जातिको इतिहास, पहिचान, संघर्ष र आन्दोलनबारे गम्भीरतापूर्वक लेखिएको देखिँदैन । केवल बादी जातिलाई सामन्तवादी संस्कृतिको उपजका रूपमा, बादी महिलालाई उपभोग्य वस्तुजसरी ‘यौन व्यवसायी’का रूपमा गलत तरिकाले चित्रण गरियो । समाजमा भ्रम फैलाउन यस्ता लेखनहरूको मनग्य हात छ ।

आजसम्म बादी जातिबारे लेखिएका जति पनि साहित्यिक पुस्तकहरू छन्, ती सबैमा बादी जातिलाई बिचरा, दयाको पात्रका रूपमा उभ्याइएको छ । उनीहरूको ऐतिहासिक संघर्ष र बलिदानीको कथा कतै लेखेको देखिन्न । बादीको पीडालाई केवल ‘रोमान्टिसाइज’ गरी बजारमा बिक्री हुने माल बनाइयो । यसले बादी जातिलाई हेर्ने नयाँ पुस्ताको दृष्टिकोणमा भ्रम पैदा गर्‍यो । साहित्यमा मात्र होइन, शैक्षिक सामग्रीहरूमा पनि बादीलाई विभेद गरिएको छ । बादी जातिको आत्मसम्मानको संघर्षलाई कमजोर बनाएर प्रस्तुत गरिएको छ । आफ्नो कथा आफैँ लेख्न बादी समुदायबाटै नयाँ पुस्ता आउन जरुरी छ ।

महिला आन्दोलन र दलित आन्दोलनदेखि टाढा
कुनै पनि मुक्ति आन्दोलन सबै समुदाय र जातको साझा आन्दोलन हो । बादी महिलाले गरेको आन्दोलन पनि एउटा मुक्ति आन्दोलन थियो । बादी आन्दोलनलाई सम्पूर्ण न्यायप्रेमीले मुक्ति आन्दोलनको अभिन्न अंगका रूपमा लिनुपथ्र्यो । तर, बादी महिलाहरूको आन्दोलनलाई कुनै जातिमा मात्रै सीमित गरियो ।

नेपालको महिला मुक्ति आन्दोलनको एउटा महत्वपूर्ण मुद्दा भनेको ‘आफ्नो शरीरमाथि आफ्नै अधिकार’ स्थापित गर्ने हो । बादी महिलाहरू यही अधिकारका लागि लडेका थिए । तर, समग्र महिला आन्दोलनकर्मीहरूले बादी महिलाको आन्दोलनलाई साथ दिएको देखिएन । बादी आन्दोलन समग्र महिला आन्दोलनकै अंग हो भनेर स्वीकार गरेको देखिएन ।

दलित आन्दोलनबाट समेत बादी आन्दोलन किनाराकृत छ । दलित आन्दोलनले बादी समुदायका विशिष्ट प्रकारका समस्याहरूलाई सम्बोधन गर्न सक्नुपर्छ । सरकार र बादी आन्दोलनकारीबीच भएका सम्झौता र कार्यान्वयनको अवस्थाबारे समन्वय गर्न सक्नुपर्छ । तर, कहिल्यै पनि यसबारे समग्र महिला आन्दोलन र दलित आन्दोलनले चासो व्यक्त गरेको देखिएन ।

महिला आन्दोलनले बादी महिलाले बाध्यात्मक रूपमा भोग्दै आएको ‘देहव्यापार’को उत्पीडनलाई अभिन्न मुद्दाका रूपमा गाँस्नुपर्छ । दलित आन्दोलनले बादी समुदायको ऐतिहासिक पहिचान, लुटिएको अस्मितालाई पुनस्र्थापित गर्न विशेष मुद्दा बनाएर कदम चाल्न आवश्यक छ ।

यसका साथै दलितभित्रैको प्रतिनिधित्व, विभेद र छुवाछुतप्रति पनि दलित आन्दोलन सजग हुन आवश्यक देखिन्छ । दलितभित्र पिँधमा पारिएका बादी, गन्धर्व र मधेसी दलितहरूको राज्यका हरेक निकायमा जनसंख्याका आधारमा समानुपातिक सहभागिताका लागि दलित आन्दोलनले विशेष पहल चाल्न आवश्यक छ ।

राज्यको उदासीनता
सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा बाक्लो जनसंख्या भएको र देशैभरि ३८६०३ जनसंख्या रहेको बादीहरूलाई राज्यको इच्छा शक्ति हुने हो भने केही वर्षमा नै उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । तर, बादीप्रति राज्यको उदासीनताका कारण बादी समुदायले शृंखलाबद्ध आन्दोलन गर्नुपरेको छ ।

०६४ मा भएको अर्धनग्न बादी महिलाहरूको आन्दोलन अभाव, उत्पीडन, बन्धन, विभेद र छटपटीबाट मुक्तिका लागि गरिएको थियो । आफ्नो जातिको आत्मसम्मान र पहिचानको मुद्दा सम्बोधन गराउन राज्यलाई दिइएको दबाब थियो । दुईबुँदे सम्झौता गरी आन्दोलन रोकियो ।

सरकारले यौनशोषणमुक्त समुदाय घोषणा त गर्‍यो, तर पुनस्र्थापनाको कुनै पहल चालेन । त्यसपछि बादी महिला जीविकाका लागि फेरि लुकिछिपी बाध्यात्मक यौन पेसामा धकेलिए । उनीहरू नेपालका ठूला सहर तथा भारतका विभिन्न सहरसम्म पुगेका छन् ।

सम्झौताको पहिलो बुँदामा बादी समुदायको आत्मसम्मानमा ठेस लाग्ने शब्दहरू, भाँड, बदेनी, पातर आदि शब्दको प्रयोगमा तुरुन्त रोक लगाउने, बादी समुदायलाई नागरिकता दिने व्यवस्था गर्ने र दोस्रो बुँदामा बादी समुदायका बालबालिकालाई अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउनेलगायतको थियो । तर, सम्झौता भएको १३ वर्ष पुग्दा पनि नेपाल सरकारले कार्यान्वयन गर्ने कुनै चासो देखाएको छैन ।

सरकारले सहमति कार्यान्वयन नगर्दा अहिले पनि बादी समुदायको आत्मसम्मानमा ठेस लाग्ने अपशब्दहरूको प्रयोग भई नै रहेको छ । बादी समुदायलाई पुनस्र्थापना गर्ने कार्यक्रमले कुनै मूर्त रूप लिन सकेको छैन । सोही सम्झौताअनुसार बादी समुदाय उत्थान विकास समिति २०६९ मा गठन गरियो ।

सरकारले विकास समिति त गठन गर्‍यो, तर त्यसका लागि चाहिने आधारभूत आवश्यकताहरूसमेत उपलब्ध गराएन । समितिमार्फत नै बादी महिलाहरूलाई पुनस्र्थापना गर्ने काम गर्नुपथ्र्यो । त्यो पनि हुन सकेन । समिति राजनीतिक भर्तीकेन्द्र बन्यो । आसेपासे नियुक्ति हुने थलो बन्यो । समितिको २ कार्यकाल सकियो, तर बादी समुदायबारे केही काम गरेन । तर, काम नगरेको बहानामा यो समितिलाई भंग गर्न हुँदैन ।

पुस २३ को सम्झना

१३ वर्षअघि अर्थात २०६५ पुस २३ गते तत्कालीन सरकारले बादी समुदायलाई ‘यौनशोषणमुक्त समुदाय’ घोषणा ग¥यो । उक्त घोषणालाई सम्पूर्ण बादी समुदायले भव्य रूपमा स्वागत गर्‍यो र कार्यान्वयनको पर्खाइमा बस्यो । तर, घोषणा भएको १२ वर्ष बित्दा पनि सरकारले पुनस्र्थापनाका कुनै कार्यक्रम सञ्चालन गरेन । राज्य उदासीन हुँदै जाँदा बादी महिलाहरूको अवस्था झन्–झन् दयनीय हुँदै गएको छ ।

सरकारले यौनशोषणमुक्त समुदाय घोषणा त गर्‍यो, तर पुनस्र्थापनाको कुनै पहल चालेन । त्यसपछि बादी महिलाहरू जीविकाका लागि फेरि लुकीछिपी बाध्यात्मक यौन पेसामा धकेलिएका छन् । उनीहरू नेपालका ठूला सहर तथा भारतका विभिन्न सहरसम्म पुगेका छन् ।

यसरी बादी महिलाहरू फेरि बाध्यात्मक यौन पेसामा धकेलिनु भनेको सम्पूर्ण नेपाली समाजका लागि चुनौतीको सवाल हो । महिला मुक्तिको सवाल पनि हो । गरिबी, अभाव र तिरस्कारको मात्रा बढ्दै जाने हो भने बाध्यात्मक यौन पेसामा धकेलिनेको संख्या बढ्न सक्छ । सरकारले सम्झौता कार्यान्वयन नगर्दा लुकीछिपी भारत पसेर बाध्यात्मक यौन पेसा अपनाएर जीविका धान्ने मानिसको संख्या बढ्न सक्छ । यसबारे सरकार समयमै गम्भीर हुनुपर्ने देखिन्छ ।

यो राज्यद्वारा नै सिर्जित समस्या हो । यो राजनीतिक समस्या नै हो । यसलाई राज्यले नै समयमै कदम चाल्नुपर्छ । बादी समुदायको पुनस्र्थापनाको काम तुरुन्तै चाल्नुपर्छ । बादीहरूको कला र सीपलाई समाजको उपयोगी काममा लगाउनुपर्छ । सरकारले बादी समुदायसँग गरेका विभिन्न सम्झौता, प्रतिबद्धता तथा बादी आन्दोलनकारीसँग गरेको दुईबुँदे सहमतिको भावनाअनुसार त्यसको प्रभावकारी कार्यान्वयन गरिनुपर्दछ ।

सरकारले सहमति जनाएको पुनस्र्थापनाको प्याकेज कार्यक्रम सञ्चालन गरी भूमि, शिक्षा, आवासजस्ता अत्यावश्यक कुराहरूलाई परिपूर्ति गर्न आवश्यक छ । बादी समुदायका छोरीहरू भारतका विभिन्न सहरहरूमा जाने प्रवृत्तिको सुरुवात भएको हुँदा त्यसलाई रोक्नका लागि मनोवैज्ञानिक परामर्शसहितको शिक्षा, स्वास्थ र रोजगारीको प्याकेज सञ्चालन गरी उनीहरूको बाँच्न पाउने अधिकारको सुनिश्चिता गर्न आवश्यक छ ।

अन्त्यमा, बादी समुदायको सम्मानजनक पहिचानलाई शासकहरूले इतिहासदेखि नै नष्ट गर्ने काम गरे । शासकहरूकै सिको गरेर विभिन्न लेख, रचना, पुस्तकहरूमा पनि त्यसैको निरन्तरतालाई लिपिबद्ध गरी बादीको इतिहास बिगार्ने काम भयो । यसले बादी समुदायको मानवअधिकार तथा आत्मसम्मानमा चोट पुगेको छ । यो हटाउनुपर्छ । जिन्दगीभरि एकल महिला बनेका बादी महिलालाई राज्यले आत्मसम्मानपूर्ण विशेष सुविधा दिनुपर्छ । सरकारलाई सम्झौता कार्यान्वयन गराउन आन्दोलनको खाँचो छ । त्यसैले यी विषयहरू बादी आन्दोलन, दलित आन्दोलन र समग्र महिला आन्दोलनको विशेष मुद्दा बन्नुपर्दछ ।

#बादी आवाज

Author