आरनमै अस्ताएका गुमनाम वैज्ञानिक

आरनमै अस्ताएका गुमनाम वैज्ञानिक

कैलालीका शिक्षक तथा साहित्यकार गणेश नेपालीको फोन आयो । उनले धनगढी बजारको पीपलटोलमा आउँन अनुरोध गरे । हामी हतारिँदै गयौँ । बजार पुगेपछि मूल सडकबाट सानो गल्लीभित्र छि-यौँ । केही मिटर भित्र छिरेपछि दायाँतर्फ रहेको टिनले छाएको छाप्रोमा पुग्यौँ । छाप्रोको आँगनमा पुरानो आरन देखियो । आरनमा खिया लागेका फलामका सामग्री यत्रतत्र छरिएका थिए ।  पुरानो दुई फुटजति अग्लो खिया लागेको एउटा फलामको पंखा देख्यौँ । पंखामा ठाडो र तेर्सो विभिन्न आकारका ‘गिएर’ जडित थिए । भीमबहादुर विश्वकर्माले पंखालाई आँगनमा ल्याए, अनि सुरु गरे बाबु लालबहादुर विश्वकर्माको बखान ।

जीर्ण बन्दै गएको पंखालाई देखाउँदै भीमबहादुरले भने, ‘बा ठूला वैज्ञानिक हुनुहुन्थ्यो । उहाँले के के बनाउनु भो के के । थरिथरिका बन्दुक, बिजुली निकाल्ने मेसिन, पानी तान्ने पम्प ।’ जीविकोपार्जनको लागि पुख्र्यौली पेसा नै अपनाएका भीमबहादुर बाबु लालबहादुर विश्वकर्माले गरेका सबै कुरा आफूले राम्रोसँग सिक्न नसकेकोमा दुःखी देखिन्थे । बाबुका आविष्कार, राज्यसँग सहयोगका लागि गरेको संघर्ष आदिको फेहरिस्त भएको एउटा फाइलको ढड्डा हामीलाई थमाए ।

को थिए लालबहादुर ?

वि.सं. १९९२ मा डोटीको विकट गाउँमा जन्मिएका लालबहादुरको पहिलो पाठशाला उनकै बाबुको आरन थियो । बाबु बालसिंह विश्वकर्मा आफ्नो आरनमा काम गर्थे । आमा तुल्सी विश्वकर्माले सघाउँथिन् । उनका बुबा बालीघरे प्रथाअन्तर्गत ‘विष्टहरू’का लागि कृषिऔजार बनाउँथे । यी उपकरणको आकार, प्रकार र प्रकृति देखेर लालबहादुरको बाल मस्तिष्कमा गहिरो कुतूहलता जाग्यो । भीमबहादुर भन्छन्, ‘बुबालाई सधैँ लाग्थ्यो रे, हँसिया किन घुमेको हुन्छ ? हँसियालाई किन सधैँ धार लगाउनुपर्छ ?’ लालबहादुरले सानैमा हँसिया, कोदाली, खुकुरीलगायत कृषिजन्य सामग्री बनाउन बुबाबाट सिकेनन् मात्रै, ती हतियारलाई परिष्कृत रूप दिन पनि प्रयत्न गरिरहे ।

लालबहादुरले सामान्य कखरा चिने । तर, कुनै औपचारिक शिक्षा लिन पाएनन् । डोटीमा छुवाछुत भोग्न परेपछि उनी कैलाली बसाइँ सरे । पहाडमा गाउँको घट्टमा जाँदा गैरदलितले गरेको छिःछिः दुरदुरका कारण उनलाई आफ्नै घट्ट बनाउने विचार आयो, त्यो पनि पानीविना चल्ने । लालबहादुरले त्यतिवेला हावाबाट चल्ने गहुँ, मकै, कोदो पिँध्न सक्ने मेसिनको आविष्कार गरे । कैलालीको धनगढीमा आएपछि पुख्र्यौली सीपको सदुपयोग गर्दै उनले आरन सञ्चालन गर्न थाले ।

०१३ देखि उनी निरन्तर नयाँ यन्त्र तथा उपकरण बनाउने काममा लागिपरे । त्यसै क्रममा उनले अनेकौँ यन्त्र तथा उपकरण आविष्कार गरे ।  ०१९ सालमा उनले ६ फायरको राइफल बनाए । उक्त राइफल ०१९ सालमा राजा महेन्द्र शाहको कञ्चनपुर भ्रमणको समयमा पेस गरे । ०२१ मा लालबहादुरले स्थानीय स्रोत–साधनको प्रयोग गरी आधुनिक डिजाइनको भित्री छुची भएको एकनाले बन्दुक बनाए । ०२५ मा भरुवा टोटा लाग्ने एक फायरको पेस्तोल पनि बनाए । ०३१ मा आधुनिक भरुवा टोटा लाग्ने एकनाले बन्दुक बनाए । ०३८ मा आधुनिक प्रकारको खुकुरी बनाए ।

‘बा ठूला वैज्ञानिक हुनुहुन्थ्यो । उहाँले के के बनाउनु भो के के । थरिथरिका बन्दुक, बिजुली निकाल्ने मेसिन, पानी तान्ने पम्प ।’

लामो प्रयासपछि सेती अञ्चलको अञ्चालाधीशको कार्यालयबाट उनले ०३२ मा ‘लाइसेन्स’ लिएर आफ्नै आरनपरिसरमा हतियार मर्मत गर्न थाले । उनले ०५४ मा बाह्र बोर टोटा लाग्ने पाँच फायरको आधुनिक डिजाइनको राइफल पनि बनाए । उनले बनाएका हतियार प्रदर्शन गरियो ।

०२७ सालतिर उनले बटन सिस्टमको आधुनिक डिजाइनको स्वचालित पंखा बनाएर तत्कालीन राजा महेन्द्रलाई दिए । भीमबहादुर भन्छन्, ‘बुबाले बनाउनुभएको पंखा विश्वमै नौलो किसिमको थियो ।’ लालबहादुरले बनाएको उक्त पंखाको निरीक्षण विद्युत् कार्यालय धनगढीले ०४४ मा ग¥यो । लालबहादुरले निर्माण गरेको अर्को आविष्कार थियो, इन्धनविनै चल्ने पानी तान्ने पम्पसेट । हात र खुट्टाले चलाएपछि, स्वचालित रूपमा काम गर्ने उक्त पानी तान्ने मेसिन लालबहादुरले ०४५ सालतिर बनाएर आफ्नो खेतमा सिँचाइ गरे । उनको त्यो आविष्कार देखेर सारा गाउँले चकित भएको भीमबहादुर सम्झन्छन् ।

त्यतिवेला सरकारी कागजले लालबहादुरलाई ‘मिस्त्री’ मात्रै बनायो । तर, उनी आविष्कार गर्ने वैज्ञानिक थिए । गोरखापत्रका सुरेशराज द्ववेदीसँगको कुराकानीमा उनले भनेका थिए, ‘फलाममा के शक्ति छैन, यसलाई ठीकसँग जोडजाड गरेर मेसिन बनाएमा त्यो मेसिनले जेजस्तो काम पनि गर्न सक्छ ।’ सन् १९९५ मा लालबहादुर एसियाको प्रसिद्ध ‘रेफेरेन्स एसिया : एसियाज हु इन हु मेन एन्ड वुमेन अफ एचिभमेन्ट’को सूचीमा पर्न सफल भए । त्यहाँ प्रकाशित व्यक्तिगत विवरणमा उनका आविष्कार समेटिएका छन् ।

लालबहादुर आफ्नै अनुभव, ज्ञान र सीपले स्वचालित प्रणालीद्वारा अधिक विद्युत् शक्ति उपार्जन हुने जनेरेटर निर्माणमा जुटेका थिए । यो उनको सबैभन्दा ठूलो सपना थियो ।  त्यति ठूलो परियोजनाका लागि लालबहादुरसँग प्राविधिक आँट र योजना त थियो, तर पुँजी थिएन । पानी तान्ने मेसिन बनाउने क्रममा उनी  आफ्नै खर्चमा ६ महिना भारतको पन्जाब बसे । लालबहादुरकी छोरी दिव्यश्वरी विश्वकर्मा भन्छिन्, ‘घरवरिपरि १६ रोपनी जग्गा थियो । बाले नयाँ आविष्कार गर्न उपकरण बनाउँछु भनेर सारा सम्पत्ति बेच्नुभयो ।’ नेपाल प्रहरीको केन्द्रीय हतियार मर्मत विभागमा लामो समय काम गरेर विनापेन्सन छाडिएका भीमबहादुर दुखेसो पोख्छन्, ‘ऋण प¥यो । बुबाले घरबारी सबै बेच्नुभयो ।’

आविष्कार गरेर देशलाई सहयोग गर्छु भनेर लालबहादुरले पटक–पटक राज्यको ढोका ढकढक्याए । निवेदन दिँदै हिँडे । बिन्तीपत्र दिँदै हिँडे । सुदूरपश्चिम भ्रमणमा आइपुगेका राजा महेन्द्रलाई आफ्नो सीप देखाए । वीरेन्द्रलाई देखाए, ज्ञानेन्द्रलाई पनि देखाए । जिल्ला प्रशासन कार्यालय पुगे । अञ्चलाधीश कार्यालय पुगे । तर, उनको कुरा कसैले सुनेनन् । निवेदन र बिन्तीपत्रको चाङ अहिले पनि भीमबहादुरसँग छ ।

उनको एउटै माग थियो, स्थानीय कालिगढलाई राज्यले प्रोत्साहन देओस् । राज्यले चिनेर हौसला देओस् । राजालाई चढाएको बिन्तीपत्रमा लेखिएको छ– नेपाल विकासका क्रममा विश्वसामु अत्यन्तै पछाडि छ । लत्ताकपडा, भाँडावर्तन, हातहतियार, बिजुली, यातायातका साधन आदि अझै अपर्याप्त छ । विदेशीसँग हात थाप्नु परेको छ । यिनै कुरालाई गम्भीरतापूर्वक मनन गर्दै आफ्नैै देशमा घरेलु सीपको माध्यमबाट यन्त्र बनाएर औद्यौगिक विकास गर्नुपर्छ ।

राजा महेन्द्रबाट उनले पटक–पटक हौसलास्वरूप ५००, ४०० र १५० रुपैयाँ पुरस्कार त पाए, तर उनको लक्ष्य बक्सिस पाउने थिएन, राज्यले उनको विज्ञान र उद्यमशीलतामा लगानी गरेर देशले फाइदा लिन सकोस् भन्ने थियो । ०२२ सालमा लालबहादुरले ‘धनगढी यन्त्रशाला’ फर्म खोल्ने प्रयास  गरे । ०३१ सालमा उद्योग तथा वाणिज्य मन्त्रालयमा बारम्बारको ताकेतापश्चात तत्कालीन उद्योग वाणिज्य सहायकमन्त्री भोलानाथ झाको निजी सचिवालयले मिस्त्री लालबहादुर विश्वकर्मा एउटा सुयोग्य नेपाली कालिगढ भएको उल्लेख गर्दै निजलाई वीरगन्ज कृषि औजार कारखानामा निजको सीप एवं कला सुहाउँदो कार्यमा लगाउनू भन्ने आदेश दियो । तर, पत्रमा भनिएजति पनि उनले काम पाएनन् ।

०३८ सालमा अञ्चलाधीशको कार्यालयमार्फत लालबहादुरले उद्योग वाणिज्य मन्त्रालय, घरेलु तथा ग्रामीण उद्योग विभाग, त्रिपुरेश्वरलाई आफ्नो उद्योगबारे पत्र पठाए । त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, विज्ञान प्रविधि मन्त्रालय, रोनास्टसम्म पनि उनका पत्रहरू पुगे । ‘ठाउँ–ठाउँमा आविष्कारको प्रदर्शन गरियो । तर, ठोस उपलब्धि भएन,’   प्रदर्शनीमा भाग लिएका उनका सहयोगी तथा भतिजा खड्क विश्वकर्मा आफ्नो अनुभव सुनाउँछन् ।
लालबहादुरले आफ्नो उमेर रहुन्जेल आविष्कार गर्न थाकेनन् । राज्यबाट केही साथ पाउने विश्वास पनि कहिल्यै मरेन । आफ्नो जीवनको अन्तिम बिन्तीपत्रमा लालबहादुरले यसरी आक्रोश पोखे, ‘मजस्तो वयोवृद्ध, त्यागी, अनुभवी वैज्ञानिक स्वदेशी कारिगरको सीप र अनुभवको कुनै कदर, सदुपयोग, सम्मान र संरक्षण हुन सकेन । उल्टो अपमान र उपेक्षा भोगेँ ।’

०००

लालबहादुर प्रविधिको अनुसन्धान र विकासका हिसाबले असाधारण प्रतिभाका धनी मात्र थिएनन्, एक राष्ट्रप्रेमी, विकासप्रेमी, महŒवाकांक्षी उद्यमी थिए । आफ्नै कर्म, साधना र अनुभवले वैज्ञानिक भएका उनलाई न देशले चिन्यो, न देश चलाउनेहरूले चिने । नेपालको दलित समुदायको भोगाइ लगभग एउटै छ, जसलाई सारांशमा प्रस्तुत गर्न सकिन्छ :

नेपाली समाजमा हलो, गोरुगाडा, चर्खा एवं हातेतान, छाला प्रशोधनको प्रविधि आदि नेपाली रैथाने प्रविधि हुन् । यिनमा दलित समुदायले विकास र संरक्षण गरेको रैथाने ज्ञान विज्ञानले काम गरेको छ । जातीय व्यवस्थामा दलितहरूलाई अछुतको व्यवहार गरियो । उनीहरूलाई शिक्षाको मौका दिइएन । विभेद गरियो, यसबाट उत्पादनमुखी ज्ञान, प्रविधि, सांस्कृतिक पुँजी, सम्पदा, नवप्रवर्तन पनि हेलाका विषय बने । कठिन परिस्थितिमा पनि दलितले हार खाएनन् । लालबहादुरको जीवन संघर्षले पनि त्यो देखाउँछ ।

(डा. कृष्ण अधिकारी अक्सफोर्ड विश्वविद्यालयका रिसर्चफेलो हुन् । उनी विश्वविद्यालयको जात, वर्ग र संस्कृति अध्ययन परियोजनाको सहशोध निर्देशक हुन् । गोपाल नेपाली समता फाउन्डेसनका अध्येता हुन् ।) 

Author