
Overview
Author: Samata Foundation
Published: 2013
ISBN: 978-9937-8372-5-5
Language: Nepali
Edition: First
Pages: 354
दलित आन्दोलनको समीक्षा गर्दा जुन उचाइ र व्यापकतामा यो आन्दोलनले गति लिनु पर्ने हो, त्यसो नहुनुमा आन्दोलनले सुरूदेखि नै लिन नसकेको वैचारिक प्रस्टता नै हो । दलित समुदायको पहिचान अलग्गै र स्थायी रूपमा अस्तित्वमा रहिरहने हो कि जातीय भेदभाव र छुवाछूतको समाप्तिसँगै अन्तरघुलन भएर एकाकार हुने हो ? यस प्रश्नको वैचारिक छिनोफानो अझै विवादमै छ । पहिचानको रूपमा जात त रहिरहने कुरो हो, तर छुवाछूत र भेदभाव त एक दिन समाप्त हुने कुरा पक्का हो । नेपाली दलितको समस्या हिन्दू धर्मले सिर्जना गरेको जात–प्रथाको कारणले स्थायीजस्तो देखिएको मात्रै हो । हाम्रो आन्दोलन पूरै जात–प्रथा र धार्मिक विश्वासविरूद्ध परिलक्षित हुनु पर्ने हो । तर हजारौं वर्षको यस जात–प्रथा र धार्मिक विश्वासले स्वयम् दलितलाई आफ्नो जातप्रति हीनताबोधबाट ग्रस्त बनाएको छ । त्यसैले जातीय समानताप्रति उसको उदासीनताको खाडलबाट उकास्न उनीहरूलाई आफ्नो जातप्रति सम्मानबोध र स्वाभिमानी भावना जगाउन जरूरी देखिएको छ । त्यसो त जात–प्रथाको विरोधको स्वर जातीय अहङ्कारमा प्रतिविम्बित हुने त्रास अझैसम्म रहिरहेको छ । दलित समुदायले आफूभित्र रहेको यस अहङ्लाई हटाई एउटा जातले अर्को जातको स्वीकार्यतालाई बढाउँदै, एकले अर्कोलाई प्रतिस्पर्धीका रूपमा होइन, सहयात्रीका रूपमा ठान्दै, दलितभित्रका सबै जातको समान विकास गर्दै, भेदभावविरूद्ध चुनौती र त्रास (थ्रेट) बन्नुपर्छ, जसप्रति हामी सबै सचेत हुनु जरूरी छ । यसरी नै धर्म र मठ–मन्दिरमा गरिने असमान व्यवहारको प्रतिरोध धर्मान्धताप्रति मोहभङ्ग हुने दिशातिर केन्द्रित हुनु आवश्यक छ । जबकि ’समानता प्राप्तिका लागि, समान हैसियतका लागि मात्रै भनेर मन्दिर प्रवेश गर्नमै धेरै समय खर्च गरियो ।
दलितहरूले परिवर्तनकारी राजनीतिक विचारसँग जोडिएर दसवर्षे जनयुद्ध र उन्नाइसदिने जनआन्दोलनबाट जति छिटो अधिकार र समानता प्राप्त गरे, त्यो विगतको तुलनामा उल्लेख्य छ । अनेक विरोधाभाषपूर्ण परिस्थिति र विचारमाझ आफ्नो पहिचान र समानता प्राप्तिका लागि बन्दुकको नालअगाडि छाति थापेर, धर्मभीरू शासकहरूको लाठीमुङग्रो सहेर हाम्रा परिवर्तनप्रेमी योद्धा दलित नेता, कार्यकता र दलित समुदायले गरेका साहसिक सङ्घर्षलाई समता फाउण्डेशनले सहर्ष सम्मान गर्दै आएको छ । समता फाउण्डेशनले तिनै साहसिक सङ्घर्षहरूको गाथाका स्पमा “दलनविरूद्ध प्रतिरोधः नेपाली दलितहरूको सङ्घर्षगाथा” नामक पुस्तक प्रकाशन गर्ने जमर्को गरेको हो । यस गाथामा सम्मिलित सङ्घर्षसम्बन्धी लेखमध्ये एकाध रचना पहिले प्रकाशित भएका थिए । तिनलाई पनि समेटेर, मूलतः अप्रकाशित नयाँ रचनाहरूलाई समटेर बृहत् रुपमा प्रकाशन गर्ने कोसिस गरिएको छ । यस्तो कोसिस पूरा गर्न सहयोग गर्नु हुने सम्पूर्ण लेखक महोदयहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
सबैलाई थाहा छ, यस पुस्तकमा समावेश भएकाबाहेक पनि थुप्रै सङ्घर्ष भएका छन् । यी र यस्ता थुप्रै सङ्घर्षले दलित आन्दोलनलाई २००३ सालदेखि आजसम्म बचाइरहेको तथ्यलाई स्वीकान्नै पर्दछ । लगभग सात दशकको दलित आन्दोलनमा २०४९ देखि २०५५ सम्म थुप्रै चर्चित सङ्घर्ष सम्पन्न भएका छन् । वास्तवमा यो समयावधि भनेको दलित सङ्घ–सङ्गठनको एकता र एकताबद्ध सङ्घर्षको कालखण्ड हो । यही अवधि अघि र पछि जनयुद्ध र जनआन्दोलनबाहेक अन्य उल्लेख्य दलित सङ्घर्ष सफल भएनन् । यसको अर्थ हो, दलित आन्दोलनलाई अगाडि बढाउन सङ्घ सङ्गठनबीच एकता जरूरी छ । एकताबद्ध सफल सङ्घर्षले दलित एकताको अपरिहार्यताको पुष्टि गरेको छ । एकतामै सङ्घर्ष सम्भव छ, सम्भव छ सुखद् परिणाम पनि ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





