
Overview
Author: Samata Foundation
Published: 2080
ISBN: 978-9937-946988
Language: Nepali
Edition: First
जातीय भेदभाव तथा छुवाछूत सिङ्गो राष्ट्रको समस्या हो । धार्मिक तथा सामाजिक क्षेत्रमा सीमित रहेको यस मानवविरोधी क्रियाकलापको दायरा अहिले सामाजिक सञ्जालमा गालीगलौज तथा अपमान गर्ने, निर्वाचनमा भेदभाव गर्ने, राजनीतिक नेतृत्व अस्वीकार गर्ने तहसम्म विस्तारित हुँदै गएको छ । यसप्रकार यसले आफ्नो स्वरूप फेर्दै नयाँ नयाँ क्षेत्रमा विस्तारित भई पुस्तान्तरण हुँदै गइरहेको छ । वर्णव्यवस्थाबाट सृजित भएको जातीय भेदभाव तथा छुवाछूत र यसको जरियाबाट हुने हिंसाजन्य कार्य खेदजनक छ ।
दलित समुदायमाथि शताब्दीयौंदेखि हुँदै आएको जातीय उत्पीडन, ज्यादती एवम् छुवाछूत तथा भेदभावजन्य व्यवहारको अन्त्य गर्नको निम्ति राज्यले केही हदसम्म प्रयत्न गरेको देखिन्छ । यद्यपि, जातकै कारण दलित समुदायमाथि हुँदै आएको हत्या, बलात्कार, कुटपिट, अपमान, तिरस्कार, बहिष्करण, अलगपना, निषेध लगायतका कार्यहरू रोकिएका छैनन् । नेपालको संविधान तथा काननुद्वारा दलित समुदायको मानव–अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने कोसिस गरिएको देखिन्छ । तर दलितहरूले सहजै न्याय पाउने कुरा सुनिश्चित हुन सकेको छैन । त्यसले गर्दा उनीहरूको मानव– अधिकारको अवस्था नाजुक अवस्थामा नै रहेको छ ।
यही पृष्ठभूमिमा दलित मानव अधिकारको संरक्षण, प्रवर्द्धन र परिपूर्ति गर्ने सवालमा राज्यलाई संवेदशील बनाउने उद्देश्यले समता फाउण्डेशनले प्रत्येक वर्ष दलित मानव– अधिकार पुस्तक प्रकाशन गर्दै आएको छ । यस वर्षको पुस्तकमा २०७९ सालमा जातीय आधारमा भएका ५५ वटा हिंसा तथा विभेदजन्य घटनाहरूको संकलन गरी त्यसको न्यायिक दुष्टिकोणबाट विश्लेषण गरिएको छ । त्यस्तै, दलित महिलामाथि भएका १०० वटा घरेलु हिंसाका घटनाहरू उल्लेख गरिएको छ । राज्यका सम्बन्धित निकायले जिम्मेवारी वहन गर्नेक्रममा देखाएको चासो र सक्रियतालाई घटनाको विश्लेषणबाट चित्रण गर्ने जमर्को गरिएको छ । त्यसैगरी घटनाहरूको तथ्यांक, न्यायिक प्रक्रिया, न्यायको प्रत्याभूतिको अवस्था चित्रण गर्ने प्रयास गरिएको छ । समग्रमा, यस पुस्तकले दलित समुदायको मानव अधिकारको अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ । यसबाट उनीहरू सुसूचित हुने नै छन्, यसले दलित आन्दोलनलाई मार्गनिर्देशनसमेत गर्ने अपेक्षा गरिएको छ । साथै, दलित मानव–अधिकारका क्षेत्रमा क्रियाशील रहेका सबैलाई खासगरी नीति वकालतको सन्दर्भमा बलियो दस्तावेज हुने विश्वास लिइएको छ । विविध कारणले यस वर्ष अध्ययन गर्न नसकिएको दलित मानव–अधिकारको समग्र अवस्थालाई आगामी वर्ष प्रकाशन हुने पुस्तकमा समेट्ने प्रयास गरिनेछ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes





