
जातीय घटनासम्बन्धी ६३ तथ्य समेटिएको दलित मानव अधिकार पुस्तक सार्वजनिक
काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत राष्ट्रिय दिवस, २०८३ का अवसरमा दलित मानव अधिकारसम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ । समता फाउन्डेसनले प्रकाशन गरेको उक्त पुस्तक बिहीबार एक समारोहकाविच विमोचन गरिएको हो ।
पुस्तकको विमोचन राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा दलित समुदायबाट राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदले संयुक्त रूपमा गरेका हुन् ।
पुस्तकमा जातका आधारमा भएका घटनाको विस्तृत विश्लेषण गरिएको छ । कुल ६३ वटा घटना समेटिएको यस अध्ययनमा ४९ वटा घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ । घटना सातै प्रदेशमा कार्यरत दलित मानव अधिकार रक्षक (डिफेन्डर) मार्फत सङ्कलन गरिएको जनाइएको छ ।
पुस्तक प्रकाशन अवधिमा राष्ट्रिय दलित आयोगबाट ४६ वटा घटनाको विवरण, नेपाल प्रहरीबाट २४ वटा घटनाको दर्ता विवरण तथा अनौपचारिक सेवा केन्द्र (इन्सेक) बाट प्राप्त तथ्य समेत समावेश गरिएको छ ।
समता फाउन्डेसनका वरिष्ठ अनुसन्धानकर्ता गोपाल नेपालीका अनुसार पुस्तकमा २०८२ सालभर भएका घटनाको विश्लेषण गरिएको हो । पुस्तकमा जातीय घटनाका पाँच वटा प्रकृतिको अध्ययन गरिएको पनि उनले जानकारी दिए ।
पुस्तक लेखन तथा सम्पादनमा गोपाल नेपाली, अर्जुन विश्वकर्मा, अधिवक्ता प्रकाश नेपाली, तिरुपति परियार र रोशन परियारको संलग्नता रहेको छ । सहयोगी भूमिकामा आशिष बैजु, सङ्गीता दूतराज, सुदिक्षा परियार र निशा सुनार रहेका छन् ।
पुस्तक पाँच वटा परिच्छेदमा विभाजन गरिएको छ, जसमा परिचय, नेपालमा दलित मानव अधिकार र अन्तर्राष्ट्रिय सन्दर्भ, दलित मानव अधिकारको स्थिति, कृत्रिम बुद्धिमत्ता (एआई) र दलित मानव अधिकारको सवाल तथा निष्कर्ष र सुझाव समावेश छन् । साथै दुई वटा अनुसूची पनि राखिएको छ, जातीय छुवाछूत तथा भेदभावसम्बन्धी घटना उजुरी विवरण र घटनाको सूची ।
समता फाउन्डेसनले २०७७ सालदेखि हरेक वर्ष दलित मानव अधिकार पुस्तक प्रकाशन गर्दै तथ्यमा आधारित नीति पैरवी गर्दै आएको जनाएको छ । संस्थाका अध्यक्ष पदम सुन्दासका अनुसार पुस्तकको उद्देश्य दलित समुदायको मानव अधिकार संरक्षण, संवर्द्धन र सुनिश्चिततामा योगदान पुर्याउनु हो ।
बिहीबार २१ जेठ २०८३ ०३:५७ PM


