प्रेस विज्ञप्ति
मिति : २०७८ भदौ २६
टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोश्रो सिजन शुभारम्भ
‘जातको प्रश्न’ जात व्यवस्थाले सिर्जना गरेको संरचनागत विभेदविरूद्ध सीमान्तकृत समुदायको प्रतिरोधलाई अझ सशक्त बनाउने एउटा अभियान हो । कोभिड–१९ र बन्दाबन्दीको विषम परिस्थितिमा पोहोर समता फाउण्डेशनले निर्माण गरेको १२ अङ्कको टेलिभिजन कार्यक्रम जातको प्रश्नले पितृसत्ताको वर्चश्व भएको जातव्यवस्था, जातीय विभेद र जातकै आधारमा हुने छुवाछूतविरूद्ध घर–घरमा संवाद शुरू गराएको छ । ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेञ्ज, २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट पनि भएको थियो ।
दलितविरूद्ध हुने हिंसा, अत्याचार र विभेद कहिले रोकिएला ? यो नेपाल राज्यमा दलितले नागरिक हुनुको अनुभव कहिले गर्लान् ? जातको आधारमा हुने विभेद कहिले अन्त्य होला ? सबै जात–जातिका व्यक्तिले समान अधिकार भएको नागरिक तथा समावेशी, समतामूलक र न्यायपूर्ण समाजमा बाँच्नुको अनुभव कहिले गर्लान् ? यी र यस्तै प्रश्नका उत्तरको खोजी हो ‘जातको प्रश्न’ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक देश हो । नेपाली समाज जात व्यवस्थाको जगमा उभिएको छ । १२५ भन्दा धेरै जातजाति र १२३ भन्दा धेरै भाषाले यसको पुष्टि गर्दछ । जात व्यवस्थाले सिर्जना गरेको सामाजिक, आर्थिक र राजनीतिक संरचनाले सबै जात–जातिलाई असमान रूपले पिरोलेको छ । यद्यपि, नेपाली समाजमा जात व्यवस्था, यसको आयाम र प्रभावबारे संवाद हुँदैन । अझ भनौं जातको प्रश्नले स्थान पाउँदैन, उत्तर पाउने त कुरै छोडौं ।
यहि सन्दर्भमा, जातको प्रश्नलाई अझ सशक्त बनाउन र सिर्जनात्मक उत्तरको खोजी गर्न समता फाउण्डशेनले टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोश्रो सिजन ८ अक्टोबर २०२१ देखि कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण गर्दैछ ।
यस पटक जातको प्रश्नमा नेपाली दलितले बाँचेको जीवनका यथार्थ, ज्ञान र अनुभवका कथाहरू बुनिएका छन् । ती कथा समग्र नेपाली दलित समुदायको प्रतिनिधि हुन्, दलित प्रतिरोधका गाथा हुन् । यो प्रतिरोधमा गैर–दलित समानुभूतिको अन्तरघुलनले जात व्यवस्थालाई चुनौती दिंदै स्वयंले पाएको सुविधा/विशेषाधिकारबारे स्वयंलाई प्रश्न गर्न र संरचनागत विभेद अन्त्यका लागि सिर्जनात्मक हस्तक्षेप सशक्त बनाउनेछ ।
जात व्यवस्थाले हरेक जात–जातिलाई सताएको छ । तैपनि यो अझसम्म साझा सवाल बन्न सकेको छैन । त्यसैले, जातिगत असमानता तथा अपमानका विरुद्ध जात–व्यवस्थाद्वारा प्रताडित प्रत्येक जात–जातिको सामूहिक प्रतिरोधको चेतना र प्रयासलाई बढावा दिन आवश्यक छ । निश्चय पनि जातको प्रश्नको दोश्रो सिजनमा यस सवाललाई समेट्ने प्रयत्न गरिएको छ । यस अभियानले संविधान प्रदत्त दलितको मौलिक मानव अधिकारको प्रवद्र्धन र संरक्षण गरी दलितहरूको प्रतिरोधलाई प्रोत्साहित गर्ने उद्देश्य लिएको छ । त्यस्तै, दलितहरूको न्यायमा पहुँच बढाउने र नेपालमा न्याय वितरण प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिइएको छ ।
यही विश्वासका साथ समता फाउण्डेशनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात–जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोश्रो सिजन शुरू गरेको हो ।
कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, सङ्गीतकर्मी प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीले सञ्चालन गर्नेछन् । ‘जातको प्रश्न’ को दोश्रो सिजन १२ अङ्कको हुनेछ । निर्देशक शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने ‘जातको प्रश्न’ मा अनुभवी पत्रकार विवेक रेग्मी, लेखक भानु बोखिम तथा समता फाउण्डेशनका अनुसन्धानकर्ताले कार्यक्रमका लागि अनुसन्धान र लेखन गरेका छन् ।
अन्त्यमा, जातव्यवस्थाले उत्पन्न गरेको सामाजिक द्वन्द्वले हामी कसैलाई पनि छाडेको छैन । कुनै पनि प्रकारका जातीय भेदभाव र असमानता सबै तह र तप्कामा व्यक्तिको साझा समस्या हो । त्यसैले, सबै किसिमका भेदभावमुक्त समाजको निर्माणमा सबै वर्ग, जात–जाति र लिङ्गका सदस्यको योगदान आवश्यक रहेको छ ।
समता फाउण्डेशन २०६५ सालमा स्थापना भएको हो । यसले दलित तथा सीमान्तकृत समुदायको अध्ययन–अनुसन्धान गरी ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ र यसैको आधारमा नीतिगत पैरवी गरी रहेको छ । समता फाउण्डेशन ‘जातको प्रश्न’ सँगै मानवअधिकार र न्याय, लैंगिक समनता, श्रम आप्रवासन, जलवायु परिवर्तनजस्ता जटिल विषयमा समेत समाधानमुखी बहस र पैरवी गरी रहेको छ । साथै, नेपालका सातै प्रदेशमा दलित सशक्तीकरण र विकासका लागि निरन्तर काम गरिरहेको छ । समता फाउण्डेशन सामाजिक न्याय र समतामूलक समाजका निम्ति युवाको सिर्जनात्मक र अर्थपूर्ण भूमिकालाई प्रोत्साहन गर्दै ज्ञान निर्माणमा प्रतिबद्ध छ ।
धन्यवाद ।
प्रदिप परियार
कार्यकारी अध्यक्ष
समता फाउण्डेशन