
विभेद विरुद्ध नयाँ भाष्य स्थापना गर्न समता फाउण्डेशन सक्रिय

दमौली । जातीय, लैंगिक र यौनिक क्षेत्रमा विद्यमान गलत भाष्यहरुलाई परिवर्तन गर्न समता फाउण्डेशन नेपालले अभियान सञ्चालन गर्ने भएको छ ।

परम्परागत सोचलाई परिवर्तन गरि नयाँ भाष्य स्थापना गर्नुपर्ने भएकाले अभियान नै सञ्चालन गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएका हुदाँ फाउण्डेशनले पहल थालेको अध्यक्ष डा मदनप्रसाद परियारले बताउनुभयो । उहाँले नयाँ भाष्य स्थापना गर्दा विद्यमान विभेद कम हुने समेत उदेश्य रहेको बताउनुभएको छ ।
अभियानका क्रममा आइतबार तनहँुको दमौलीमा सरोकारवालाहरुसँग कुरा गर्दै फाउण्डेशनका प्रतिनिधिहरुले दलित, महिला, अपाङ्गता भएका ब्यक्ती र लैङ्गिक अल्पसंख्यकहरुको समस्याबारे जानकारी लिएका छन् । फाउण्डेशनका गोपाल नेपालीले समस्याको खोजी गरेर समाधानका लागि पहल गर्दै आएको जनाउदै आगामी दिनमा पनि खोज र अनुसन्धानलाई प्राथमिकता दिने बताउनुभयो ।
दमौलीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा तनहुँमा सक्रिय विभिन्न गैरसरकारी संस्थाहरुका प्रतिनिधि र अभियान्ताहरुले सम्वन्धित क्षेत्रका समस्या, चुनौती र अवसरहरुको बारेमा जानकारी गराएका थिए । फाउण्डेशनले जातीय, लैङ्गिक र यौनिक अल्पसंख्यकका चुनौतीलाई बुझ्न देशभर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ ।
२० श्रावण, २०८२


