Frequently Asked Questions
जस्ट फ्युचर्स फेलोसिपबारे केही बारम्बार सोधिने प्रश्नहरु
Frequently Asked Questions
१. समता फाउण्डेशन कस्तो संस्था हो?
समता फाउण्डेशनको स्थापना २०६५ सालमा काठमाण्डौमा भएको हो । यो संस्था ज्ञान निर्माणको क्षेत्रमा दलित नेतृत्वको एकमात्र स्वतन्त्र थिंक ट्याङ्कको रुपमा स्थापित छ ।
२. समता फाउण्डेशनले के काम गर्छ ?
समता फाउण्डेशन सामाजिक न्यायका निम्ति ज्ञान उत्पादन, बहस र छलफलमा क्रियाशील छ । दलित तथा बहिष्करणमा पारिएका समुदायको नेतृत्व विकासका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संवाद गर्नुका साथै तथ्यमा आधारित सुसूचित नीतिगत पैरवी समेत गर्दै आएको छ । र, यस संस्थाले दलित विषयक ज्ञानको दायरा फराकिलो बनाउनको लागि विभिन्न खोजमूलक पुस्तकहरु, नीतिपत्र, प्रतिवेदन, हातेपुस्तिका आदि प्रकाशन गरेको छ ।
३. जेएफआई भनेको के हो?
समता फाउण्डेशनले सन् २०१९ मा सुरू गरेको ‘न्यायपूर्ण भविष्यका लागि पहल’ (जेएफआई) को उद्देश्य जात, लैङ्गिकता, यौनिकता तथा कोभिड महामारीबारे विमर्श गर्दै नयाँ भाष्यहरु निर्माण गर्नु हो । यो पहल विशेष गरी दलित महिला तथा दलित यौनिक अल्पसङ्ख्यक व्यक्तिहरुका जीवन्त अनुभव तथा दृष्टिकोणमाथि केन्द्रित छ ।
४. जेएफआईको उद्देश्य के हो?
जेएफआईको उद्देश्य दलित महिला तथा दलित यौनिक अल्पसङ्ख्यक व्यक्तिहरुले ‘अपन कथा अपने बुनै छी’ अर्थात् कला तथा जीवनको सङ्गमस्थलबाट आना कथा आफैले बुन्नेछन् भन्ने हो ।
५. जेएफआईको मुख्य लक्ष्य के हो?
जेएफआईका मुख्य तीन लक्ष्यहरु :
- होनहार, गतिशील तथा समर्पित दलित महिला तथा दलित यौनिक अल्पसङ्ख्यक व्यक्तिहरुलाई नेपालमा जात, लैङ्गिकता तथा यौनिकतासम्बन्धी बहसमा नयाँ पुस्ताका सर्जक, नेता तथा चिन्तकको रुपमा विकास गर्न सहयोग गर्ने।
- दलित महिला तथा दलित यौनिक अल्पसङ्ख्यक व्यक्तिहरुका दृष्टिकोणबाट जनचेतना र सार्वजनिक बहस बढाउने तथा नीतिनिर्माणमा प्रभाव पार्ने उद्देश्यले जात, लैङ्गिकता तथा यौनिकताबारे नयाँ भाष्यहरुलाई अभिलेखन गर्ने, व्यवस्थापन गर्ने तथा प्रचार–प्रसार गर्ने ।
- समुदाय, देश तथा विश्वस्तरमा चिन्तक, अभियन्ता तथा अगुवाहरुको नयाँ सञ्जाल निर्माण गर्दै समता फाउण्डेशनलाई जात, लैङ्गिकता तथा यौनिकता सम्बन्धी अग्रणी संस्थाको रुपमा स्थापना गर्ने ।
६. समता फाउण्डेशनअनतर्गत ‘जस्ट फ्युचर्स फेलोसिप’ कस्तो खालको पहल हो?
जस्ट फ्युचर्स फेलोसिप’ पहल विशेष गरी दलित महिला तथा दलित यौनिक अल्पसङ्ख्यक व्यक्तिहरुको जीवन्त अनुभव तथा दृष्टिकोणमाथि केन्द्रित छ । जसरी उनीहरुका अनुभव र दृष्टिकोण फरक फरक छन्, उनीहरुका हेराइ, बुझाइ, कल्पना र भविष्य पनि भिन्नभिन्नै हुन सक्छन् ।
७. फेलोसीप कहाँ कहाँ सञ्चालन भइरहेको छ?
मधेश प्रदेशमा सन् २०२२ को शुरुवातबाट संचालन भइरहेको छ भने, बाग्मति प्रदेशमा सन् २०२३ बाट शुरु हुन गइरहेको छ ।
८. ‘जस्ट फ्युचर्स फेलोसिप’ अरु प्रदेशमा पनि सञ्चालन हुने योजना छ कि छैन?
‘जस्ट फ्युचर्स फेलोसिप’ नेपालका अरु प्रदेशमा पनि खुलाउने भविष्यको योजना रहेको छ ।
९. ‘जस्ट फ्युचर्स फेलोसिप’ मा फेलोसिपको समय अवधि कति रहेको छ?
यो परियोजनामा फेलोसिपको अवधि १५ महिना रहेको छ ।
१०. ‘जस्ट फ्युचर्स फेलोसिप’ कतिजनालाई दिइने छ?
हाल बागमती प्रदेशका २० जना दलित महिलालाई दिइने छ ।
११. ‘जस्ट फ्युचर्स फेलोसिप’ मा आवेदन गर्नको लागि आवेदकको शैक्षिक योग्यता कति हुनु पर्दछ ?
यो फेलोसिप विशेष गरेर दलित महिलासँगै दलित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमध्ये आफूलाई महिलाको रुपमा पहिचान गर्ने २० वर्षदेखि ४० वर्षको उमेरका महिलालाई दिइने छ । ‘जस्ट फ्युचर्स फेलोसिप’ मा आवेदन गर्नको लागि आवेदकले कम्तिमा एसईई उत्तीर्ण गरी कला र मानविकी क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको हुनु पर्नेछ ।
१२. ‘जस्ट फ्युचर्स फेलोसिप’ मा आवेदन गर्न आवेदकको के-के अनुभव हुनु पर्दछ ?
यो फेलोसिपको आवेदन गर्नको लागि आवेदकको शैक्षिक योग्यताका साथ-साथै कला (सिलाई, बुनाई, कटाई, पेंटिंग) संगीत, साहित्य क्षेत्रमा कम्तीमा ३ वर्षदेखि काम गर्दैआएको हुनु पर्नेछ। दलितका मुद्दामा कम्तीमा तीन वर्ष कला र मानविकी क्षेत्रमा काम गरेको व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
१३. ‘जस्ट फ्युचर्स फेलोसिप’ मा आवेदन गर्न के-के गर्नु पर्दछ र यसबारे कसरी थाहा पाउने ?
समता फाउन्डेशनले यो फेलोसिपको आवेदन खुलाउने गर्दछ । यस सम्बन्धी सूचना तथा जानकारी समता फाउन्डेशनको वेबसाइट, फेसबुक पेज, ट्वीटरका साथै विभिन्न पत्र-पत्रिका र रेडियो स्टेशनबाट थाहा पाउन सकिन्छ ।
१४. ‘जस्ट फ्युचर्स फेलोसिप’ आबद्ध फेलोहरुले के कस्ता सेवा-सुविधा पाउँछन्?
‘जस्ट फ्युचर्स फेलोसिप’ मा आबद्ध फेलोहरुले १५ महिनासम्म हरेक महिना वृत्ति स्वरुप निश्चित रकम (मासिक १५ हजार जति) पाउनेछन् । यसका साथै, फेलोहरुलाई एउटा ल्यापटप (वा सिम र डाटा सहितको मोबाइल फोन) र मासिक इन्टरनेट प्याकेज पाउनेछन् । तथा पठन-पाठन सामग्रीहरु जस्तै: किताब, कपि, विभिन्न लेखहरुको संग्रह समेत उपलब्ध गराइने छ । १५ महिना अवधिभरि हरेक फेल्लोजको स्वास्थ्य बीमाको व्यवस्था गरिने छ ।
१५. ‘जस्ट फ्युचर्स फेलोसिप’अन्तर्गत के कस्ता विषय अध्ययन-अध्यापन गरिन्छ?
फेलोसिपअन्तर्गत विशेष गरी जात, लैंगिकता र यौनिकता सम्बन्धी विषयमा अध्ययन-अध्यापन गरिन्छ । यसमा विशेषगरी दलित महिलाको जीवन अनुभव र भाष्यमा जोड दिइन्छ ।
१६. ‘जस्ट फ्युचर्स फेलोसिप’ को अध्ययन-अध्यापनको ढाँचा कस्तो प्रकारको हुन्छ?
१५ महिने बहिन-वृत्ति पाँच पाँच महिनाको ३ सेमेस्टरमा विभाजन गरिएको छ:
- पहिलो सेमेस्टर –– जीवन कथा, कोभिड महामारी तथा नयाँ न्यायपूर्ण भविष्य समुदाय स्थापना ।
- दोस्रो सेमेस्टरः जात, लैङ्गिकता तथा यौनिकताबारे विमर्श: उत्पत्ति, संयन्त्र, स्थायित्व ।
- तेस्रो सेमेस्टर: जात, लैङ्गिकता तथा यौनिकताबारे नयाँ भाष्य तथा सञ्जाल निर्माण ।
१७. ‘जस्ट फ्युचर्स फेलोसिप’ मा कुन मध्यमबाट कक्षा सञ्चालन हुने गर्दछ?
यस फेलोसिपअन्तर्गतका कक्षाहरु भर्चुअल (जुमबाट) तथा इनपर्सन ईन्टेसिभ (भौतिक रुपमा भेटेर) कक्षाहरुका माध्यमबाट सञ्चालन हुनेछन् । फेलोज र फ्याकल्टिहरु बिच भौतिकरुपमा भेटेर मेन्टरिड हुनेछ ।
१८. ‘जस्ट फ्युचर्स फेलोसिप’ आबद्ध भएपछि फेलोहरुले काठमाण्डु मै आएर अध्ययन गर्नु पर्दछ?
यस फेलोसिपमा आबद्ध भएपछि फेलेहरुले आफ्नै घरमा बसेर अध्ययन र कक्षा लिन सक्नेछन् । तर आवश्यकता अनुसार कार्यशाला विभिन्न ठाउँमा हुने भएकोले त्यसमा उपस्थिथि हुन अनिवार्य छ ।
१९. यस फेलोसिपमा छनौट भएपछि फेलोहरुले के के काम गर्नु पर्दछ?
फेलोहरुले कला र मानविकी क्षेत्रमा जातको प्रश्नबारे नयाँ कथा लेख्ने र भएका कथालाई फरक ढंगले प्रस्तुत गर्नु पर्दछ । उनीहरुले मौखिक इतिहास, संस्मरण, आत्मकथा, कलाकृति, परम्परागत चित्रकला सिर्जना गर्नु पर्दछ । त्यसैगरी, फेलोहरु कविता, गीत, सङ्गीत, छोटो फिल्म, सार्वजनिक सूचना, मातृभाषा–राष्ट्रभाषामा पोडकास्ट पनि उत्पादनमा सक्रिय सहभागी हुने छन् ।
२०. यस फेलोसिपमा आबद्ध भएपछि फेलोहरुले कति समय दिनु पर्दछ?
फेलोसिपमा आबद्ध भएपछि प्रत्येक फेलोले हफ्तामा चार दिन छुट्याउनु पर्दछ । त्यसमा दुई दिन जूमको माध्यबाट कक्षा हुनेछ र दुई दिन विषय अन्तर्गत अध्ययन गर्ने, फिल्म हेर्ने, कथा, कविता पढ्न र दिइएको गृहकार्यको निम्ति छुट्याउनु पर्दछ । तर, फेलोले फेलोसीप अवधिभरी अन्य संस्थामा पूर्णकालिन काम (full-time job) गर्न पाउने छैनन् ।