विभेदको वृत्तान्त

विभेदको वृत्तान्त

किताब

मेघराज रसाइलीद्वारा लिखित पुस्तक, ‘आन्तरिक विभेदको वृत्तान्त : दलित र गैरदलितभित्रका विभेद र छुवाछुत’ जातीय संरचनाबाट गरिने विभेदका कारणले ग्रसित मानिसहरूको पीडामा आधारित छ । पुस्तकले दलित र गैरदलितभित्रको छुवाछूतले नेपाली समाजमा हुँदै आएको जातव्यवस्थाको भित्री र बाहिरी पाटोको ऐतिहासिक अभ्यासलाई चिरफार गरेको छ । यस पुस्तकले छुवाछुत कानुनतः दण्डनीय भइसके पनि दलित–दलितबीच जारी विभेदको भित्री कथा खोतल्छ । छुवाछुतविरोधी कानुन बन्ने, तर लागू नहुने विषयमा अभियन्ताहरू गम्भीर हुनुपर्ने लेखकको धारणा छ ।

चार खण्डमा विभक्त पुस्तकले दलितमाथि हुँदै आएको दलनको ऐतिहासिक तथ्यसहित चिरफार गरेको छ । पुुस्तकभित्र ‘जातको कुसंस्कृतिको चिरफार’, ‘दलनको दलदलमा दलित’, ‘आन्तरिक विभेदको वृत्तान्त’, ‘दलनविरुद्धको एकीकृत सङ्घर्ष’, ‘अबको दिशा र रणनीतिक बाटो’ र ‘नेपालका दलितहरूको परिचय’ आदि विषय छन् । दलित समुदायसँग सम्बन्धित महत्वपूर्ण जानकारी दिने सूचनाहरू पनि पुस्तकमा समेटिएको छ ।

पुस्तक आन्तरिक विभेदको सैद्धान्तिक अध्ययन होइन, ऐतिहासिक रूपरेखा पनि होइन । पुस्तकले इतिहास र धर्मशास्त्रलाई सन्दर्भ–बिन्दु बनाएर वर्तमान जीवनकै अन्तर–कुन्तर खोतल्ने प्रयास गरेको छ । मनुस्मृतिको धर्मशास्त्रदेखि अहिलेसम्म दलितलाई हेर्ने दृष्टिकोण र दलित(लाई कहाँ कसरी पछाडि पारियो त्यसको उत्खनन गर्नेे कोसिस गरिएको छ ।
दलित–दलितबीचको विभेदमा व्यक्ति दोषी कि संरचना ? भनेर प्रश्न लेखकले गरेका छन् । गैरदलित समुदायले दलितभित्रै पनि जातीय विभेद हुने भन्दै आलोचना गर्ने गरेका छन् । विभेदबारे प्रश्न उठाउँदा ‘पहिले आफैँभित्रको विभेद हटाऊ’ भनेर दलित अगुवा, दलित अभियन्ताहरूलाई नाजवाफ बनाउने गरेको प्रसंग पनि लेखकले जोडेका छन् । लेखकको मूल खोज यही प्रश्नवरिपरि घुमेको छ ।

विभेदविरुद्ध आवाज उठाउँदा आफैँप्रति प्रश्न उठाइन्छ । ‘तिमीहरूभित्रै विभेद छ, के हामीसँग समान हुने कुरा गर्छौ ? पहिला तिमीहरू आपसमा मिल, अनि मात्र हामीसँग समानताको कुरा गर्न आऊ’ भन्ने वचन समाजमा मनग्य सुनिन्छ । यस पक्षलाई लेखकले चुनौतीकै रूपमा लिएर पुस्तकमा यसबारे आफ्ना धारणा राखेका छन् । पुस्तकमा दलित र गैरदलित समुदायभित्र रहेको आन्तरिक भेदभावपूर्ण अभ्यासलाई तथ्यसहित प्रस्तुत गरिएको छ ।

वर्णव्यवस्था र जात व्यवस्थालाई बलियो बनाउन राज्यले रोपेको आन्तरिक विभेदको विषवृक्षलाई संयुक्त रूपमा उखेल्ने प्रयास दलितहरूले नगरेका होइनन् । दलित समुदायले विभेद र छुवाछुतविरुद्ध राणा शासनपछि सङ्गठित आन्दोलन गरे ।  मन्दिर प्रवेशका लागि आन्दोलन गरे । सहभोज अभियान र राज्यका निकायमा सहभागिताका लागि दलितले आन्दोलन गरे । पुस्तकमा ती आन्दोलन र सङ्घर्षहरूको विश्लेषण गरिएको छ ।

गैरदलितले दलितमाथि इतिहासदेखि वर्तमानसम्म निरन्तर विभेद गरिरहेकै छ । राज्यसत्ता इतिहासदेखि हालसम्म गैरदलितकै हातमा भएकाले दलितको हितमा सामान्य सुधारका कामबाहेक अरू उल्लेखनीय कदम केही पनि चालिएको छैन । यद्यपि सबै गैरदलितहरू त्यसमा जिम्मेवार छैनन । उनीहरूको प्रयत्नलाई सम्मान गर्नैपर्छ । लेखकले गैरदलितहरूको सहयोग र महत्वपूर्ण भूमिकाबारे पनि छर्लङ्ग पारेका छन् ।

‘अबको दिशा र रणनीतिक बाटो’ अध्याय दलितभित्रैको एकता र आन्तरिक विभेदमा केन्द्रित छ । वैचारिक अभियानका साथै, राजनीतिक अभियान, सामाजिक–सांस्कृतिक अभियान, आर्थिक अभियानबारे यस अध्यायले धेरै पक्ष समेटेको छ । सरकारले जातीय विभेदविरुद्ध विभिन्न समयमा गरेका घोषणालाई आन्तरिक छुवाछुतविरुद्ध पनि कडाइका साथ लागू गरिनुपर्ने लेखकको मत छ ।

पुस्तक मूलतः नेपाली समाजमा जारी आन्तरिक विभेदको नालीबेली हो । यसमा मुख्यतः तागाधारी समाजको प्रभाव जनजाति समाजमा कसरी परिरहेको छ भन्ने पक्ष पनि देखाइएको छ । पुस्तकले आन्तरिक र बाह्य विभेदका अनेक आयाम खोतलेको छ । सबैलाई जातको साँघुरो संरचनाभित्र बन्द गरेर शरीर, श्रम, सीप, कलाको भोग गर्ने परम्पराको आलोचनात्मक समीक्षा पुस्तकमा गरिएको छ ।

पुस्तकले आन्तरिक विभेदको वृत्तान्त प्रस्तुत त गर्छ नै, सँगै आफूले भोगेको पीडादायी यथार्थको  बयान पनि गर्छ । राजेन्द्र महर्जन र अर्जुन विश्वकर्माको सम्पादनमा रसाइलीले लेखेको यस पुस्तकमार्फत लेखकले प्रश्न गर्ने र जवाफ खोज्ने प्रयास गरेका छन् ।

विधा     : गैरआख्यान
लेखक     : मेघराज रसाइली
सम्पादक     : राजेन्द्र महर्जन, अर्जुन विश्वकर्मा
प्रकाशक     : समता फाउन्डेसन
पृष्ठ     : ३२३
मूल्य     : रु.४५०/-