‘ब्याक टु मंगलमान’

‘ब्याक टु मंगलमान’

मंगलमान सबैखाले अन्याय विरुद्ध जुध्थे, उत्पीडनको विरोधमा लड्थे, सत्तालाई सडकबाट चुनौती दिन्थे, कहिले एक्लै त कहिले साथीहरू जुटाएर । उनमा ‘रबिन हुड’को छवि देखिएको थियो ।

काठमाडौँ — भेँडा–च्याङ्ग्रा काण्ड : २००८ सालतिर कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको सरकार थियो । सरकारले दसैँ–तिहारका लागि तिब्बतबाट भेँडा–च्याङ्ग्रा ल्याउँथ्यो र जनतालाई बेचेर नाफा कमाउँथ्यो ।

एक युवालाई लाग्यो, जनताको सेवा गर्नुपर्ने सरकारले नाफा खान व्यापार पो गर्दैछ । गरिब जनता मारमा पार्ने सरकारी व्यापारलाई त रोक्नुपर्छ ।

उनले सरकारले ल्याएको भेँडा–च्याङ्ग्रा लुटे, जनतालाई परल मोलमा बेचे, त्यसबाट आएको पैसा सरकारलाई लगेर फालिदिए । उनले भने, सरकारले जनतासँग नाफा लिनलागेकोले प्रतिवाद गरँे, तर सरकारले भन्यो, यो डकैती हो ।

खुर्सानी काण्ड : मातृका सरकारले नै विदेशी मुद्रा आर्जनका निम्ति भन्दै खुसार्नी विदेश पैठारी गर्‍यो । ती जुझारु व्यक्तिलाई बजारमा खुर्सानीको हाहाकार हुनेगरी थालिएको सरकारी व्यापार चित्त बुझेन । खुर्सानीसँग भात खान बाध्य गरिबहरूको पक्षमा हस्तक्षेप गर्न उनले केही साथीसँगै गएर भन्सारका जम्मै खुर्सानी लुटेर बजारमा बेचे, त्यसको पनि पैसा सरकारलाई पैसा बुझाइदिए । त्यस प्रतिरोधपछि स्थानीय खाँचो हेरी पैठारी गर्ने नियम बन्यो ।

उनी सबै खाले अन्याय विरुद्ध जुध्थे, उत्पीडनको विरोधमा लड्थे, सत्तालाई सडकबाट चुनौती दिन्थे, कहिले एक्लै त कहिले साथीहरू जुटाएर । भावुक, विद्रोही र लडाकु स्वभावकै कारण उनको व्यवहारमा नेपाली पीडितजनका ‘रबिन हुड’को छवि देखिएको थियो । उनी रबिन हुडजस्तो मिथकीय पात्र होइनन्, हाडमासुको जीवन्त व्यक्ति हुन्, सचेत, सक्रिय र साहसी आम मान्छे ।

जीवित छँदै अनेक दन्त्यकथाका नायक बनाइएका साधारण मनुवा हुन्, मंगलमान । आम मान्छेका आम समस्या र असाधारण पीडालाई उठाएर लडभिड गर्दै हिँड्ने उत्पीडितजनका अगुवा हुन्, मंगलमान नेपाली । ‘मंगलमान’ खण्डकाव्यका रचनाकार कवि सिद्धिचरण श्रेष्ठका लागिचाहिँ ‘धरतीको ज्युँदो छोरो, सिर्जनाको मोती !’

प्रो. माणिकलाल श्रेष्ठका नजरमा आफ्ना समकालीन अभियन्ता मंगलमान खासै प्रचारमा नआएका ऐतिहासिक व्यक्ति हुन्, जसले जीवनभर अछूत–प्रथा र उत्पीडन प्रणाली विरुद्ध अडिग संघर्ष गरे । खासमा उनले ‘प्रजा’को तन्त्रका लागि नयाँ–पुराना शासकहरूसँग निरन्तर लडाइँ लडे, चाहे राणा र शाह हुन् या सिंह, आचार्य र कोइराला । राणादेखि शाह शासकसँग सडकमा हातमुखले, पत्रपत्रिकामा कलमले जुधे । अनि हिन्दु वर्णव्यवस्था र जातप्रथाले थोपरेको अशिक्षा एवं अज्ञानता विरुद्ध ‘अछूत’हरूका लागि स्कुल चलाएर लडाइँ थाले ।

आफ्ना मित्रको आचरणबारे समालोचक कृष्णचन्द्रसिंह प्रधान भन्छन्, हेर्दा ग्वाँजे–ग्वाँजे लाग्ने, पुड्को–पुड्को, कमिज–सुरुवालमा सधैँभरि हतार–हतारमा हिँडिरहने सर्वहारा अनुहारको मान्छे हो, मंगलमान । उनी डरभर र पीरचिन्ता केही नराख्ने, निर्धक्क हिँड्ने ‘अछूत’हरूका प्रिय नेता थिए !

आफ्नोलागि समेत रुने र लड्ने फुर्सद नभएको बेला उनीचाहिँ अरूकै निम्ति रुनेधुने, लड्ने–भिड्ने समाजको यथार्थ र घुम्ती सूचना थिए । र थिए ‘भूगोलपार्क’, ‘ममता’जस्ता नेपाली दैनिकका प्रकाशक–सम्पादक, ‘हरिजन स्कुल’ (नेपाल ज्योत्सना विद्यालय) का संस्थापक, नेपाल समाज सुधार संघका संस्थापक अध्यक्ष, नेपाल–पाकिस्तान मैत्री संघका सभापति ।

मंगल–गाथा

नेपालका कुनै ‘सहिद’ होइनन्, अन्यायी र उत्पीडनकारी सत्तासँग जुध्दाजुध्दै मरेका थिए, मंगलमान । आम मान्छेका दु:ख–पीडा र संघर्ष गायब रहेको शासकीय इतिहासका किताबमा पाइँदैन उनको नाम । हुन त कममात्रै आम मान्छेका अगुवाबारे साहित्य लेखिएको होला ।

तर मंगलमान त्यस्ता ‘सब–अल्टर्न अभियन्ता’ हुन्, जसको नायकत्वबारे प्रख्यात कवि सिद्धिचरण श्रेष्ठले सिंगो खण्डकाव्य लेख्न भ्याए, जसको अभियानी व्यक्तित्वबारे नामुद कलाकार रामेशले गीत नै गाए, जसको संघर्षमय जीवनबारे लक्ष्मण राजवंशीले कथा नै रचे ।

र जसको निरन्तरको सडक संघर्षबारे राजनीतिज्ञ डिल्लीरमण रेग्मीले ‘ब्याक टु मंगलमान’ कहावत नै बनाए । ‘पुन: मुषिको भव:’को अर्थमा कहावत बनाएर मंगलमानको ठिक परिचय र उचित सम्मान नगरिएको गुनासो आफ्नो ठाउँमा छँदैछ, तर यसले उनलाई अमर बनाएकोमा भने शंका छैन ।

सत्ता–शक्तिका लागि प्रिय नाम होइन, मंगलमान । १९८२ साउनमा असन, त्यौडस्थित प्रधान परिवारमा जन्मिएका मंगलमानका लागि सत्ता–शक्तिका मूल्य–मान्यता र सिद्धान्त स्वीकार्य थिएन । जातभातबारे थाहा भएपछि उनले प्रधान थर मिल्काई ‘नेपाली’ राखेका थिए ।

कृष्णचन्द्रसिंह प्रधान भन्थे, ‘उनलाई नेपाली होइन को भन्छ र ? तर थर नै नेपाली लाग्ने उपनाम राखेर समानता र राष्ट्रियता बोध गर्थे ।’

स्कुलमा सामान्य अध्ययनमात्रै गरेका मंगलमान सानैदेखि बच्चाहरूका नाइके थिए । उनी हुनेखानेहरूका खोसेर बच्चाहरूबीच बाँडीखानमा मज्जा मान्ने गर्थे । मंगलमानका निकटतम मित्र नूतन थपलियाका अनुसार दाजु जुजुमान प्रधानमाथि भएको दमनले उनलाई राजनीतिक रूपमा सक्रिय पारेको थियो । प्रजातन्त्रका लागि राजनीति गरेको आरोपमा राणाशासनले जुजुमानलाई कोर्टमार्सल गरी १२ वर्षको काराबास सजाय सुनाएको थियो ।

उनले युवा अवस्थामै नेपाल प्रजापरिषद्ले थालेको प्रजातान्त्रिक आन्दोलनमाथि भएको राज्य–हिंसा पनि देखेका थिए, भोगेका थिए । जनताका लागि सहादत प्राप्त गरेका शुक्रराज शास्त्री, गंगालाल र जुजुमानजस्ता आन्दोलनकारीबाट प्रभावित युवा मंगलमान १९९८ देखि नै हिंसा र दमन विरुद्ध राजनीतिक रूपमा सक्रिय भएका थिए ।

उनको राजनीति सत्ता–शक्ति प्राप्ति र त्यसको निजीकरणतिर केन्द्रित थिएन । उनी राजनीतिक प्रजातन्त्रसँगै सांस्कृतिक प्रजातन्त्र पनि चाहन्थे, जुन छुवाछूत बार्ने प्रजातान्त्रिक अगुवाहरूका लागि स्वीकार्य थिएन । त्यसैले उनले वर्णवादी हिंसा र जातीय दमनको मारमा परेका ‘अछूतहरू’का लागि शिक्षा र चेतनाको आगो बाल्ने काम थालेका थिए ।

प्रतिरोधका प्रतीक

आम जनतालाई समेत राज्यवादी शिक्षाबाट पनि अछुतो राखिएको बेला ‘अछूतहरू’का लागि २००४ असारमै काठमाडौँको मुटुमै स्कुल स्थापना गर्नु कम साहसिक काम होइन ।

उनले मदनलोचन सिंह, नाति नापित र नूतन थपलियाको साथ लिएर अछूत छात्रछात्राका लागि अलग्गै स्कुल खोलेका थिए । त:ननीस्थित उनका काकाको घरमा चलाइएको नेपाल ज्योत्सना विद्यालयका दुईजना शिक्षक पनि ‘अछूत’ नै थिए । त्यसैताका थपलियासँग मिलेर थालेको प्रौढ स्कुल पनि उनीहरूको गिरफ्तारी र भारत प्रवासका कारण दुई–तीन वर्षमात्रै चल्यो ।

‘अछूतहरू’का लागि ‘अछूतहरू’बाटै चलाइएको शिक्षा अभियान वर्णवादी समाज र जाप्रथाको संरक्षक राज्यका लागि पाच्य भएन । त्यसैले समाजबाट बहिष्कृत र राज्यबाट प्रताडित हुने क्रमको सिकार भए उनी ।

उनी ‘अछूतहरू’लाई शिक्षित र सचेत बनाई शक्तिशाली बनाउन चाहन्थे । त्यसैले उनको अधिकांश समय पोडे, च्यामे भनिने समुदायकै बस्तीमा बित्थ्यो, जो उनका लागि अछूत थिएनन् । उनले अछूत केटीसँगै प्रेमविवाह गरी सामाजिक विद्रोहको उद्घोष पनि गर्न चाहेका थिए, तर उनी सफल भएनन् ।

उनले प्रजातन्त्र स्थापना भएपछि कथित अछूत समुदायलाई संगठित गरेका थिए, न्यून वैतनिक कर्मचारी संघको नाममा । प्रजातन्त्रमा शासन गर्नेहरूले समाजको पिँधमा रहेका तह र तप्काका जनताका पीरमर्कालाई सबैभन्दा पहिले सम्बोधन गर्नुपर्ने संकेत देखाएको थियो, संघको अगुवाइमा २००८ सालमा भएको संघर्षले ।

त्यसबेला च्यामखल: र पोडेहरूको संगठित बलमा आन्दोलन छेडेका मङ्गलमानलाई ‘हरिजन’हरूलाई उचालेको आरोपमा सरकारले जेलमा हाल्यो । सहर दुर्गन्धित हुँदासम्म पनि आन्दोलनकारीहरूले एक सातासम्म फोहोर नउठाइकन संघर्ष जारी राखेपछि अन्त्यमा सरकार झुक्न बाध्य भयो । र कुचीकारको तलब १३ रूपैयाँबाट बढाएर ४५ रूपैयाँ बनाउनुपर्‍यो ।

आन्दोलनको सफलतापछि जेलबाट छुटेका मंगलमानको छवि ‘अछूत’हरूका प्रिय नेताको रूपमा स्थापित भयो । नेपाल समाज सुधार संघको अगुवाइ गरेका मंगलमानले २०१० सालमा पशुपतिनाथ मन्दिरमा अछूतहरूको प्रवेशका लागि भएको लामो संघर्षमा पनि महत्त्वपूर्ण भूमिका खेलेको थपलियाको दाबी छ ।

तीन हप्ते संघर्षमा मन्दिर प्रवेशका संघर्ष गर्ने र जेल भर्ने अभियान चलाइँदा उनी पनि गिरफ्तार भए । भारतीय पत्रिकामा मन्दिर प्रवेश अभियानको चर्चा भएको र हरिजन नेताका रूपमा मंगलमान गिरफ्तार भएको उनको जिकिर छ ।

प्रजातन्त्रका लागि भएको संघर्षमा होस् या प्रजातन्त्रको क्रियान्वयनका लागि भएको आन्दोलनमा, मंगलमान अनुपस्थित रहने सडक संघर्ष कममात्रै हुन्थे । प्रजातन्त्रका लागि भएको संघर्षको क्रममा उनी नारा लगाउन, भिड जुटाउन, आन्दोलनकारीहरूलाई प्रेरित गर्नमा माहिर थिए ।

प्रजातन्त्र स्थापनापछिका आन्दोलनमा पनि उनी जनता र जनताका मुद्दाबीच, जनता र पार्टीबीच, नेता र कार्यकर्ताबीच पुलका रूपमा स्थापित भएका थिए । लक्ष्मण राजवंशीको आँखामा मंगलमान उपस्थित नभएका जुलुस, सभा र समारोह नुन विनाका खाना वा मलामीहरूको भिड वा श्रद्धाञ्जली सभाजस्तै हुन्थे ।

जब उनको सशरीर उपस्थिति हुन्थ्यो, तब उनीभित्रको भावावेशले सडक तताउँथ्यो । उनका इन्कलाबी शब्दले, शब्दले भन्दा बेसी आँखा, मुख र हातका हाउभावले आन्दोलनकारी प्रतिरोधका लागि वातावरण बनाउँथे । मरणासन्न हुनेगरी सत्ताको लाठी खान र जेल जान उनले कहिल्यै कञ्जुस्याइँ गरेनन् ।

यही प्रतिरोध भाव र भंगिमाका कारण मंगलमान ‘जेल–बर्ड’ (झ्यालखानाका पन्छी) का रूपमा चर्चित भए । उनी घरमा भन्दा सडकमा, सडकमा भन्दा जेलमा अधिक बसे, कुनै सत्ता–शक्ति–सम्पत्तिको लोभलालच विना ।

जेलमा पनि सबैका नाइके हुने बानी थियो, सबैको सुविधालाई ध्यानमा राख्ने स्वभाव थियो । त्यसैले जेलमा साथी भएको एक चोरले उनको तन्नम घरमा चोर्न आउँदा मंगलमान बिरामी भएको देखेर उनलाई स्याहार्दै बसेको कथा सुन्न पाइन्छ ।

थपलियाका अनुसार उनले आफ्नो घरपरिवारका लागि, निजी जीवनका लागि, सुखसयल र सत्ताका लागि कहिल्यै राजनीति गरेनन्, खाने, सुत्ने, जिउने कुनै ठेगान नहुँदा पनि कुनै गुनासो गरेनन् ।

‘ट्र्याजिक’ विम्ब

कुनै पार्टी विशेषसँग आबद्ध नभएका मंगलमान कुनै पनि खालको सत्तासँग झुकेनन्, बरु सबैसँग छाती तन्काएर जुझेका थिए । उनले २०१४ सालमै भूगोलपार्क दैनिकमा चेताएका थिए, ‘हाम्रा प्यारा प्रजावत्सल राजा एकतन्त्र शासन चलाउने पक्षमा मात्र छैन, बन्दुक र मेसिनगनको आधारमा देशको शासन बागडोर आफ्नो हातमा लिने ताकमा पनि छ ।’

२०१५ सालमा गणेशमान सिंह विरुद्ध स्वतन्त्र उम्मेदवारीसमेत दिएका मंगलमानलाई कांग्रेसी सरकारले २०१७ सालमा युवराज वीरेन्द्रको अपहरण योजना बनाएको आरोपमा समात्यो । जेलभित्र टन्न रक्सी ख्वाएर खुब पिट्दा पनि उनले आरोप स्वीकारेनन् ।

उनलाई कांग्रेसी सरकारले मात्रै होइन, राजा महेन्द्रको पञ्चायती सरकारले पनि वर्षदिनसम्म चर्को यातना र पीडा दियो । त्यही कारण थला परेपछि उनलाई जेलबाट मुक्त गरियो, अन्तत: जलग्रह रोगका कारण उपचारविना उनी देहबाट पनि मुक्त भए ।

प्रजातन्त्रको अपहरण गरिएको १ वर्षपछि २०१८ पुस ७ गते देहान्त भएका मंगलमान वास्तवमा प्रजातन्त्रको नाममा भएको कुशासनको ‘ट्र्याजिक’ विम्ब हुन् । उनले प्रजातन्त्रको प्रजातन्त्रीकरणका लागि लड्दा–लड्दै साढे ३६ वर्षको उमेरमै गरिबी, अपमान र यातनाबीच मृत्युवरण गरे । उनको लासलाई चिहानसम्म लाने र मलामी जाने पनि खासै भएन ।

राजनीतिक–सांस्कतिक–आर्थिक परिवर्तनको आशासहित स्थापित प्रजातन्त्रकालमा उत्पीडितका निराशा र आक्रोशलाई आवाज दिएका मंगलमानको देहावसान पक्कै पनि आशा र प्रतिरोधको समाप्ति थिएन । त्यसैले २०१८ सालमै लिखित खण्डकाव्यमा सिद्धिचरणले उनको मृत्युसँगै न्यायनिसाफ पनि मरेको घोषणा गरे तापनि आशावादलाई जगाइराखेका थिए :

हिमालको माथि चढी विकुल म फुक्दछु

अन्याय यो सधैँ–सधैँ हुन्न–हुन्न भन्छु

लाख–लाख मंगलमान जन्मँदै छन् यहाँ

संग्राम यो जिन्दगानी बदल्दै छन् यहाँ ।

महर्जन लेखक र सम्पादक हुन् भने विश्वकर्मा समता फाउन्डेसनसँग आबद्ध अध्येता हुन् ।