जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ)

न्यायपूर्ण समाजका लागि नयाँ कथाको सिर्जना : नेपाली दलित महिला र कोभिड–१९

 

समता फाउण्डेशन, नेपाल

दक्षिण एसियाको जात–व्यवस्था, त्यसमा आधारित विभेद र छुवाछूत मानव सभ्यताकै क्रुर यथार्थ हो । यस्तो व्यवस्थाको पिँधमा छन्, दलित महिला । दलित महिला भएर बाँच्दा थाहा हुन्छ– जात–व्यवस्थामा दलित महिला हुनु भनेको के हो ? उसो त यस व्यवस्थाबाट कुनै पनि समुदायका महिला अछुतो छैनन् । किनभने सबै महिलाको शरीर नै जात–व्यवस्था टिकाइराख्ने बलियो अस्त्र हो । जातमा आधारित पवित्रता र श्रेष्ठता कायम गर्न महिलाको यौनिकतालाई नियन्त्रण गरिन्छ । त्यसैले जात–व्यवस्था बुझ्न लैङ्गिकताबारे थाहा पाउनु जरुरी छ र लैङ्गिकता बुझ्न जात–व्यवस्थाबारे थाहा पाउनु आवश्यक छ । यी दुवै पक्षको सम्बन्ध नबुझ्दा यस्तो गहिरो विषयको बुझाइ नै अपूरो हुन्छ ।

जस्ट फ्युचर्स फेलोसिप (जेएफएफ) के हो ?

जात–व्यवस्थामा आधारित विभेदलाई केन्द्रमा राखेर समता फाउण्डेशनले ‘जस्ट फ्युचर्स फेलोसिप (जेएफएफ)को नाममा बहिन–वृत्ति समूह बनाउन विशेष पहल थालेको छ । यसै क्रममा सिर्जनशील दलित महिलासँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमध्ये आफूलाई महिलाको रूपमा पहिचान गर्ने महिलाहरूलाई ‘जस्ट फ्युचर्स फेलोसिप (जेएफएफ)’ दिइने छ । प्रदेश नं. २ का १६ जना दलित, विशेष गरी २० देखि ४० वर्षसम्मका महिलालाई ‘जस्ट फ्युचर्स फेलोज (जेएफएफ)’का रूपमा आत्मविकासका लागि आठदेखि दस जना ‘विश्वव्यापी सामाजिक न्यायको रूपान्तरणकारी (जीएसजेसीएम) बीच सहकार्य गरिने छ । यसले फेलोहरूमा जात–व्यवस्थाबारे ज्ञान बढाउँछ, आलोचनात्मक प्रश्न गर्ने र नयाँ ढंगले जातबारे पुनर्कल्पना गर्न सघाउँछ । र, उनीहरूमा भएका प्रतिभा र क्षमतालाई तिखार्ने छ ।

फेलोजहरूले कला र मानविकी क्षेत्रमा जातको प्रश्नबारे नयाँ कथा रच्ने र भएका कथालाई पनि फरक दृष्टिकोणले सिर्जना गर्ने छन् । उनीहरूले नेपालभित्र र बाहिरका सिर्जनशील व्यक्तित्वहरूदेखि भुइँतहका क्रियाशील रूपान्तरणकारी व्यक्तित्वहरूसँग सहकार्य गर्ने छन् । यही सहकार्यको परिणामस्वरूप मौखिक इतिहास, संस्मरण, आत्मकथा, कलाकृति, परम्परागत चित्रकला बुन्ने छन् । त्यस्तै, कविता, गीत, संगीत, छोटो फिल्म, सार्वजनिक सूचना, मातृभाषा–राष्ट्रभाषामा पोडकास्ट पनि उत्पादन हुने छन् ।

ती सामाजिक न्यायका रूपान्तरणकारीहरूले कोरोना महामारीबीच चर्किएको जात–व्यवस्थालाई गहिरोसँग चिरफार गर्ने छन् । र, दलित महिलामाथि जात–व्यवस्थाले थोपरेका भोगाइ तथा त्यसविरुद्ध उनीहरूका प्रतिरोधबारे आपसमा संवाद गर्दै आफ्नो समझदारी पनि बढाउने छन् ।

जस्ट फ्युचर्स फेलोसिप (जेएफएफ) किन ?

जात–व्यवस्थाबाट संसारका २३ करोडभन्दा बढी दलित प्रभावित छन् । नेपालमा जात–व्यवस्थाबारे गहिरो अध्ययन–अनुन्धानको सीमितताले जातभात भनेकै छुवाछूत मात्रै ठानिएको छ । जान्नेबुझ्ने मानिसहरू पनि लेख्ने र भन्ने गर्छन्, ‘दलितहरूमै हीनभाव छ, दलितहरूभित्रै छुवाछूत छ, छुवाछूत त नपढेकाले गर्छन्, पढेकाले गर्दैनन्, भेदभाव गाउँमा मात्रै छ, सहरमा छैन, यो मानसिकताको कुरो हो, एकै रातमा हट्दैन, जातभात हिजो थियो, आज छैन ।’ यस्तो विश्लेषणले जात–व्यवस्थाबारे राम्ररी अध्ययन गर्न उत्प्रेरित गर्दैन ।

मिडियामा पनि दलितमाथि बलात्कार, यौन–हिंसा र दुव्र्यवहार, शारीरिक दण्ड, डर–धम्की, विभेदका समाचार मात्रै धेरै आउने गर्छन् । यस्ता समाचारले दलित महिलालाई थप पीडित बनाएको देखिन्छ । साहित्यमा पनि गरीखाने दलितहरूलाई मागीखाने वा बिष्ट–बराजुको दया–मायामा बाँच्ने निरीह–पात्रको रूपमा चित्रण गर्ने चलन बढी देखिन्छ । लामो समयदेखि दलितहरू दलन र हिंसाको सिकार भए, धेरैजसो अवस्थामा दलन र हिंसा सहन बाध्य नै भए । कतिपय बेला भने उनीहरू त्यस विरुद्ध मौलिक कलामार्फत् जुधेको इतिहास पनि छ । दलितहरूका गीत–संगीत, कला, सीप, संस्कृति, स्मृति र मौखिक इतिहासले दलितको समग्र जीवनलाई बुझ्न सघाउँछन् ।

लामो समय पढ्नबाट वञ्चित गरिएका दलितहरूले आफ्नो दृष्टिकोणलाई केन्द्रमा राखेर लेखेको इतिहास पातलो देखिन्छ । मधेसी दलित महिलाको संघर्षबारे झनै कम लेखिएको र सुनिएको पाइन्छ । यसको अर्थ उनीहरूको इतिहासै नभएको होइन । समुदायको जीवन्त भोगाइले समाज र राज्यको व्याकरण बुझ्न सिकाउँछ । संघर्षका कथा कसले भन्छ, कसरी भन्छ, किन भन्छ, कहिले भन्छ ? यिनै प्रश्नले समाज र राज्यको व्याकरण बुझ्न–लेख्न सघाउँछन् । दलित महिलाका भोगाइ, स्मृति, रुवाइ, चीत्कार, सपना र प्रतिरोधलाई शब्दमा समेट्न सजिलो छैन, किनभने तिनको क्षेत्रफल धेरै फराकिलो छ । उनीहरूका संघर्ष–कथाले नेपालका दलित महिला संघर्ष, मूलधारको महिला आन्दोलन र दलित आन्दोलनका लागि मात्रै होइन, बदलिँदो विश्वका निम्ति पनि ठूलो अर्थ र महŒव राख्छन् ।

अहिले दलित समुदाय मात्रै होइन, सिंगो मानव समाज नै कोरोना महामारीसँग जुझ्दै छन् । धनी–गरिब, उँच–नीचको खाडल गहिरो र फराकिलो भएको विश्वमा यसको प्रभाव पनि समुदायमा असमान छ । यस्तो स्थितिमा समता फाउण्डेशनले नेपालको मानव विकास सूचकाङ्कमा सबैभन्दा तल रहेको प्रदेशमा, त्यसमा पनि दलित महिलासँग सहकार्य गर्दै छ ।

प्रदेश नं. २ का दलित महिलासँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यकमध्ये आफूलाई महिलाको रूपमा पहिचान गर्ने दलित महिलासँग सहकार्य किन ?

नेपालको कुल जनसंख्याको ५.९ प्रतिशत मधेसी दलित छन् । त्यसमा पनि धेरैजसो दलित प्रदेश नं. २ का आठ वटा जिल्लामा बसोबास गर्छन् । यस प्रदेशको जनसंख्यामध्ये १८ प्रतिशत मधेसी दलित छन्, यो ठूलो जनसांख्यिक बल हो । उनीहरूमध्ये आधाभन्दा धेरै संख्यामा रहेका दलित महिला सीमान्तमा छन् । उनीहरू जीविकाका लागि खेत र घरका काम गर्छन्, तर तिनमाथि भने उनीहरू धेरैको स्वामित्व छैन । उनीहरू ‘उच्च जात’का मालिकहरूका खेतबारीमा सस्तोमा मजदुरी गर्छन् । अझै पनि कतिपय बँधुवा श्रमिक बन्न बाध्य छन् ।

यस्तो अवस्थामा पनि मधेसी दलित महिला हरेक संघर्षमा आफ्नै ढंगले जोडिएका छन् । उनीहरू वर्ग, क्षेत्र, लिंग, भाषा–भेष, नागरिकताका आधारमा विभेद विरुद्ध एकैसाथ लडिरहेका छन् । उनीहरूको संघर्ष श्रमको उचित मूल्य प्राप्तिसँगै सम्मानपूर्ण जीवनको खोजी पनि हो । सदियौँंदेखि छुवाछूत, विभेद र दलनसँग दलितहरू लडिरहेका छन् । कोरोना महामारीबीच भएका बलात्कार, हत्या र हिंसाले गर्दा दलितहरूको निद्रा हराएको छ । महामारीपछि रोग, भोक र विभेद विरुद्ध पनि जुझ्नुको विकल्प छैन । मधेसी दलित महिलाको पहिचान नै प्रतिरोध हो, संघर्ष हो । यसमा पनि मुसहर महिलाहरूले पुरुषहरूसँग काँधमा काँध मिलाएर गरेको संघर्षको ऐतिहासिक महŒव छ । यो भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि हो ।

यस्तै संघर्षका कारण मिथिला भाषा–सभ्यता बलियो भएको क्षेत्र मानिने प्रदेश नं. २ दलन र प्रतिरोधको प्रमुख केन्द्र बन्दै छ । त्यसको प्रतिविम्ब प्रदेश सरकारका नीति–निर्णयमा पनि देखिन्छ । फलस्वरूप प्रदेश नं. २ सरकारले केही पहल गरेको छ । यहाँको प्रदेश सरकारले नेपालमै पहिलो पटक दलित सशक्तीकरण ऐन, २०७५ बनाएको छ । प्रदेश नं. २ को प्रहरी अन्तर्गत दलित समुदायकै नेतृत्वमा रहने गरी ‘जातीय विभेद तथा छुवाछूत नियन्त्रण एकाइ’को व्यवस्था गरिएको छ । जातको प्रश्नमा राज्यको कानुनभन्दा समाजको कानुन नै बलियो रहेको बेला यस्ता कानुनी व्यवस्था लागू गर्न राज्य दृढ हुनुपर्छ । अर्काेतिर, ती संरचनालाई जात, लिंग र वर्गको आधारमा समावेशी बनाउने तथा ऐनका प्रावधानलाई छिटो लागू गर्ने प्रदेश सरकारलाई चुनौती छँदै छ ।

कानुनी व्यवस्थाको कार्यान्वयन र दलितमुखी नीति–कार्यक्रम बनाउन सडक आन्दोलनको महत्व हुन्छ, जसले सरकार–प्रशासनलाई प्रभावित गर्छ । यसका लागि आवश्यक छ– दलित समुदाय संगठित हुनु र संघ–संस्थाहरूबीच सहकार्य गर्नु । संस्थागत नेतृत्व पनि जरुरी हुन्छ । यसको लागि बौद्धिक र सांस्कृतिक पुँजीको ठूलो भूमिका हुन्छ । यी सबै पक्षमा दलितहरूमा स्रोत–साधनको अभाव छ ।

यसका लागि सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका चिन्तक र सिर्जनशील व्यक्तित्वहरूसँग हातेमालो गरिन्छ । यही हातेमालोमार्फत् उनीहरूका ज्ञान, सीप र सामाजिक पुँजीलाई बढाउन पहल गरिने छ । यस पहलबाट सिर्जना हुने नयाँ कथाले धेरैजसो दलित महिलाका, खास रूपमा मधेसी दलित महिलाका दुःख–पीडालाई मात्रै होइन, उनीहरूका दैनिक प्रतिरोधसँगै जीवनका सपना र अनेक आयामको खोजी गर्ने छन् । कथा–लेखन सबैका लागि न्याय र समता भएको समाज बनाउन सिर्जनात्मक हस्तक्षेप गर्ने सानो प्रयास हो । हामी सबै सिक्न चाहन्छौँं, सिकाउन चाहन्छौँं, र न्यायपूर्ण समाज निर्माण गर्न चाहन्छौँं ।

अठार महिने ‘जस्ट फ्युचर्स फेलोलोसिप (जेएफएफ)’ बाट निम्नलिखित विषय सिक्न सकिन्छ :

१. विषय–विज्ञको सहयोगबाट आफ्नो कथा आफै भन्ने–लेख्ने क्षमतामा तिखार्ने ।
२. जात–व्यवस्थामा आधारित विभेदबारे र मधेसी दलित महिलाका संघर्षबारे कथा खोज्ने, सुन्ने र सुनाउने ।
३. जात–व्यवस्थाबारे ज्ञान बढाउने, आलोचनात्मक प्रश्न गर्ने र जातको प्रश्नबारे नयाँ ढंगले परिकल्पना गर्ने ।
४. आफूमा भएका प्रतिभा र क्षमतालाई खोतल्दै, स्वीकार गर्दै आफ्नो व्यक्तित्व विकास गर्ने ।
५. दलित महिलाको जीवन, सिर्जनशीलता र संघर्षको उत्सव मनाउने।
६. अन्तर्राष्ट्रिय तहसम्म साथीसंगी बनाउँदै जात–व्यवस्थाबारे छलफल गर्ने र बहिन–वृत्ति सञ्जाल बनाउने ।
७. फेलोजहरूसँग सहकार्य र समन्वय गर्दै भविष्यका सम्भावनाको ढोका खोल्ने ।
८. फेलोसिपको अन्त्यमा सामाजिक न्यायका लागि दलित कला तथा साहित्य महोत्सवमा विभिन्न माध्यमबाट फेलोजका कलाका प्रदर्शन गर्ने ।

फेलोसका सुविधा र जिम्मेवारी:

१. मासिक १५ हजार रूपैयाँको दरले अठार महिनासम्म स्टाइपन्ड ९वृत्ति० पाउने छन् ।
२. लगातार १८ महिनासम्म आवधिक रूपमा कार्यशालामा भाग लिनुपर्ने छ ।
३. कम्तीमा हप्ताको चार दिनको समय यो पहललाई दिनुपर्ने छ । कार्यशाला अनलाइनबाट, सामूहिक र व्यक्तिगत रुपबाट हुने छ ।
४. अध्ययन समूहमा सक्रिय रूपमा भाग लिनुपर्ने छ ।
५ . फेलोसिपको अन्त्यमा समता फाउण्डेशनले फेलोजलाई प्रमाणपत्र प्रदान गर्ने छ ।

थप जानकारीका लागि समता फाउण्डेशनमा ०१५९०५७१६ वा ९८४६८४६४०० मा सम्पर्क गर्न सक्नुहुन्छ । यस पहललाई फोर्ड फाउण्डेशन इन्डिया, नेपाल, श्रीलङ्का कार्यालयको सहयोग रहेको छ ।