जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ)का लागि आह्वान

जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ) का लागि आह्वान

आफ्नो कथा आफै बुन्छु

जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ)

न्यायपूर्ण भविष्यहरूका लागि नयाँ कथाको सिर्जना

समता फाउण्डेशननेपाल

 

दक्षिण एसियाको जात–व्यवस्था, त्यसमा आधारित विभेद र छुवाछूत मानव सभ्यताकै क्रुर यथार्थ हो । यस्तो व्यवस्थाको पीँधमा छन् दलित महिला । दलित महिला भएर बाँच्दा थाहा हुन्छ ः जात–व्यवस्थामा दलित महिला हुनु भनेको के हो ? उसो त यस व्यवस्थाबाट कुनै पनि समुदायका महिला अछुतो छैनन् । किनभने सबै महिलाको शरीर नै जात–व्यवस्था टिकाइराख्ने बलियो अस्त्र हो । जातमा आधारित पवित्रता र श्रेष्ठता कायम गर्न महिलाको लैङ्गिकता र यौनिकतालाई नियन्त्रण गरिन्छ । त्यसैले जात–व्यवस्था बुझ्न लैङ्गिकताबारे थाहा पाउनु जरुरी छ र लैङ्गिकता बुझ्न जात–व्यवस्थाबारे थाहा पाउनु आवश्यक छ । यी दुवै पक्षको सम्बन्ध नबुझ्दा यस्तो गहिरो विषयको बुझाइ नै अपूरो हुन्छ ।

यसै क्रममा समता फाउण्डेशनले सन् २०१९ देखि ‘जस्ट फ्यूचर्स इनिसिटिभ’ (न्यायपूर्ण भविष्यहरूका लागि पहल) थालेको हो । यो पहल विशेष गरी दलित महिला तथा दलित यौनिक अल्पसंख्यक व्यक्तिहरूका जीवन्त अनुभव तथा दृष्टिकोणमाथि केन्द्रित छ । यस पहलको उद्देश्य दलित महिला तथा दलित यौनिक अल्पसंख्यक व्यक्तिहरूले कलाका विभिन्न माध्यमबाट आफ्ना जीवन–कथा आफैले बुन्न सिक्नु–सिकाउनु हो । साथै, यी भोगाइ र कथा नेपाल साँच्चै कस्तो देखिन्छ भन्ने एक अध्ययनको अंग पनि हो । यसरी आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने समाजको कल्पना गर्दै नेपालमा जात, लैंगिकता र यौनिकता : जीवन–कथाहरूको सिर्जना गर्न बहिन–वृत्ति (फेलोसिप) सञ्चालन गरिएको छ ।

 जस्ट फ्युचर्स फेलोसिप (जेएफएफ) के हो ?

जात–व्यवस्थामा आधारित विभेदलाई केन्द्रमा राखेर समता फाउण्डेशनले ‘जस्ट फ्युचर्स फेलोसिप’ (जेएफएफ) को नाममा बहिन–वृत्ति समूह बनाउन विशेष पहल थालेको छ । धेरै वर्षसम्म अनेक विषय र विधामा सिक्ने सिकाउने र नयाँ जीवन–कथाहरू सिर्जना गर्ने नयाँ पहलको रुपमा यसको थालनी भएको हो । यसै क्रममा सिर्जनशील दलित महिलासँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यकमध्ये आफूलाई महिलाको रूपमा पहिचान गर्ने महिलाहरूलाई ‘जस्ट फ्युचर्स फेलोसिप (जेएफएफ)’ दिइएको छ । मधेश प्रदेशका १६ जना दलित महिला, विशेष गरी २० देखि ४० वर्षसम्मका महिला ‘जस्ट फ्युचर्स फेलो (जेएफएफ)’ का रूपमा आत्मविकासका लागि क्रियाशील छन् ।

मधेश प्रदेशमा पहिलो पटक ‘जस्ट फ्युचर्स फेलोसिप’ को अभ्यासपछि समता फाउण्डेशनले अब बागमती प्रदेशमा पनि पहल थालेको छ । ’आफ्नो कथा आफै बुन्छु’ भन्ने अठोटका साथ थालनी हुन लागेको यस पहलमा यस प्रदेशका दलित महिला र दलित यौनिक अल्पसंख्यक महिलाका साथै नेवाः समुदायमा आफूलाई दलित महिलाका रुपमा पहिचान गर्ने महिलाहरू सहभागी हुँदै छन् । यसै क्रममा १५ महिने बहिन–वृत्ति कार्यक्रममा २० देखि ४० वर्षसम्मका २० जना दलित महिलालाई छनौट गरिन्छ । नयाँ वर्ष २०२३ को जनवरीदेखि सुरु हुने यस कार्यक्रममा छनौट भएका व्यक्तिहरूले मासिक १६ हजार रुपैयाँ (स्टाइपन्ड) पाउँछन् । उनीहरूले आठदेखि दस जना ‘विश्वव्यापी सामाजिक न्यायको रूपान्तरणकारी (जीएसजेसीएम) बीच सहकार्य गर्ने अवसर पनि प्राप्त गर्छन् ।

यस पहलले जीवन्त अनुभव र दृष्टिकोणको आधारमा फेलोहरूमा जात–व्यवस्थाबारे ज्ञान बढाउँछ, आलोचनात्मक प्रश्न गर्ने र नयाँ ढंगले जातबारे पुनर्कल्पना गर्न सघाउँछ । र, उनीहरूमा भएका प्रतिभा र क्षमतालाई तिखार्छ । फेलोहरूले कला र मानविकी क्षेत्रमार्फत जातको प्रश्नबारे भएका कथालाई आलोचनात्मक ढंगले बुझ्न प्रयत्न गर्ने र नयाँ कथा रच्छन् । उनीहरूले नेपालभित्र र बाहिरका सिर्जनशील व्यक्तित्वहरूदेखि भुइँतहका क्रियाशील रूपान्तरणकारी व्यक्तित्वहरूसँग सहकार्य गर्छन् । यही सहकार्यको परिणामस्वरूप मौखिक इतिहास, संस्मरण, आत्मकथा, कलाकृति, परम्परागत चित्रकला बुन्ने छन् । त्यस्तै, कविता, गीत, संगीत, छोटो फिल्म, सार्वजनिक सूचना, मातृभाषा–राष्ट्रभाषामा पोडकास्ट पनि उत्पादन हुने छन् । ती सिर्जनामा उनीहरूले कोरोना महामारीबीच चर्किएको जात–व्यवस्थालाई गहिरोसँग चिरफार गर्ने छन् । र, दलित महिलामाथि जात–व्यवस्थाले थोपरेका भोगाइ, त्यस विरुद्ध उनीहरूका प्रतिरोधका साथै दलित महिला र दलित यौनिक अल्यसंख्यक समुदायका विभिन्न आयामबारे आपसमा संवाद गर्दै आफ्नो समझदारी पनि बढाउने छन् ।

जस्ट फ्युचर्स फेलोसिप (जेएफएफ) किन ?

जात–व्यवस्थाबाट संसारका २३ करोडभन्दा बढी दलित प्रभावित छन् । नेपालमा जात–व्यवस्थाबारे गहिरो अध्ययन–अनुन्धानको सीमितताले जातभात भनेकै छुवाछूत मात्रै ठानिएको छ । ‘जान्नेबुझ्ने’ मानिसहरू पनि लेख्ने र भन्ने गर्छन्, ‘दलितहरूमै हीनभाव छ, दलितहरूभित्रै छुवाछूत छ, छुवाछूत त नपढेकाले गर्छन्, पढेकाले गर्दैनन्, भेदभाव गाउँमा मात्रै छ, सहरमा छैन, यो मानसिकताको कुरो हो, एकै रातमा हट्दैन, जातभात हिजो थियो, आज छैन ।’ यस्तो विश्लेषणले जात–व्यवस्थाबारे राम्ररी अध्ययन गर्न उत्प्रेरित गर्दैन ।

मिडियामा पनि दलितमाथि बलात्कार, यौन–हिंसा र दुव्र्यवहार, शारीरिक दण्ड, डर–धम्की, विभेदका समाचार मात्रै धेरै आउने गरेको देखिन्छ । यस्ता समाचारले दलित महिलाहरूलाई पीडितको रुपमा मात्रै चित्रण गरिएको पाइन्छ । साहित्यमा पनि गरीखाने दलितहरूलाई मागीखाने वा बिष्ट–बराजुको दया–मायामा बाँच्ने निरीह–पात्रको भाष्य बढी देखिन्छ । लामो समयदेखि दलितहरू दलन र हिंसाको सिकार भए, धेरैजसो अवस्थामा दलन र हिंसा सहन बाध्य नै भए । कतिपय बेला भने उनीहरू त्यस विरुद्ध मौलिक कलामार्फत् जुधेको इतिहास पनि छ । दलितहरूका गीत–संगीत, कला, सीप, संस्कृति, स्मृति र मौखिक इतिहासले दलितको समग्र जीवनलाई बुझ्न सघाउँछन् ।

लामो समय पढ्नबाट वञ्चित गरिएका दलितहरूले आफ्नो दृष्टिकोणलाई केन्द्रमा राखेर लेखेको इतिहास पातलो देखिन्छ । कुनै पनि समुदायका दलित महिलाको संघर्षबारे झनै कम लेखिएको र सुनिएको पाइन्छ । यसको अर्थ उनीहरूको इतिहासै नभएको होइन । समुदायको जीवन्त भोगाइले समाज र राज्यको व्याकरण बुझ्न सिकाउँछ । संघर्षका कथा कसले भन्छ, कसरी भन्छ, किन भन्छ, कहिले भन्छ ? यिनै प्रश्नले समाज र राज्यको व्याकरण बुझ्न–लेख्न सघाउँछन् । दलित महिलाका भोगाइ, स्मृति, रुवाइ, चीत्कार, सपना र प्रतिरोधलाई शब्दमा समेट्न सजिलो छैन, किनभने तिनको क्षेत्रफल धेरै फराकिलो छ । उनीहरूका संघर्ष–कथाले नेपालका दलित महिला संघर्ष, मूलधारको महिला आन्दोलन र दलित आन्दोलनका लागि मात्रै होइन, बदलिँदो विश्वका निम्ति पनि ठूलो अर्थ र महत्व राख्छन् ।

यसबीचमा दलित समुदायमात्रै होइन, सिंगो मानव समाज नै कोरोना महामारीसँग जुझेका छन् । धनी–गरिब, उँच–नीचको खाडल गहिरो र फराकिलो भएको विश्वमा यसको प्रभाव पनि समुदायमा असमान नै देखिएको छ । यस्तो स्थितिमा समता फाउण्डेशनले नेपालको मानव विकास सूचकाङ्कमा सबैभन्दा तल रहेको मधेश प्रदेशमा, त्यसमा पनि दलित महिलासँग सहकार्य गर्न थालेको हो । अब देशकै राजधानी भएको बागमती प्रदेशका दलित महिला, दलित यौनिक अल्पसंख्यक महिलाका साथै नेवाः समुदायमा आफूलाई दलित महिलाका रुपमा पहिचान गर्ने महिलाहरूसँग आफ्नो कथा आफै बुन्ने पहलमा हातेमालो गर्दै छ ।

बागमती प्रदेशका दलित महिलादलित यौनिक अल्पसंख्यक र नेवाः समुदायमा आफूलाई दलित महिलाका रुपमा पहिचान गर्ने दलितसँग सहकार्य किन ?

मधेश प्रदेशबाट सुरु भएको जेएफएफ बागमती प्रदेशसम्म विस्तार हुँदैछ । अब ‘अपन कथा अपने बुनै छी’ ले ‘आफ्नो कथा आफैले बुन्ने छु’ वा ‘थःगु बाखं थःम्हं हे कने’ को रुप लिँदैछ । यस पहल तराई–मधेशबाट बागमती प्रदेशसम्म पुग्दा मानव भूगोलमा मात्रै विस्तार भएको छैन, अझ इतिहास र समुदायले पनि व्यापकता पाएको छ ।

बागमती प्रदेश देशकै राजधानी भएको प्रदेश हो र सहरहरू धेरै भएको क्षेत्र पनि हो । यहाँ सयौं वर्षदेखि जरो गाडेर बसेको जात–व्यवस्थाको विशेष इतिहास छ । यहाँ सबैजसो समुदायका राजा–महाराजाले जात–व्यवस्थालाई प्रभुत्व र वर्चस्व कायम गर्ने वैचारिकीको रुपमा प्रयोग गरेको विगत छ । मधेश क्षेत्रमा आफ्नै विशेष खालको जात–व्यवस्था छ भने पहाडी क्षेत्रमा भिन्नै खालको जात–व्यवस्था छ । लामो समयसम्म नेपाली राज्यले सबैजसो समुदायलाई जातको उँचो–नीचोको श्रेणीमा बाँडेर राखेको छ । बागमती प्रदेशका पुराना बासिन्दा नेवाः समुदाय पनि त्यसबाट अछूतो छैन । कतिपय सन्दर्भमा नेवाः समुदायमा जात व्यवस्था छैन भन्ने दाबी गरिएको सुन्न र पढ्न पाइन्छ । यसको अर्थ हिन्दू र बौद्ध धर्म मान्ने नेवाः समुदायको दैनिक जीवनमा जात–व्यवस्था छँदै छैन भन्ने होइन । यस समुदायमा पनि आफ्नै खालको जातको तहगत प्रणाली छ, तल्लो जात–माथिल्लो जातको विभाजन छ, जात अनुसारको उँच–नीचको व्यवहार छ ।

यस्तो अवस्थामा सबै समुदायका महिलाले, त्यसमा पनि दलित महिलाले समुदाय विशेषका जात–व्यवस्थाबारे बुझ्न र सहरका जात–व्यवस्थाबारे थाहा पाउन जरुरी छ । जात–व्यवस्था भोगिरहेका महिलाहरूको जीवन, अनुभव र दृष्टिकोणबाट हेर्ने, बुझ्ने र थाहा पाउने काम गर्नु आवश्यक छ । सहर र राजधानीमा समेत जातकै कारण हुने विभेद, छुवाछूत र हिंसाबारे अध्ययन र चिन्तन हुनु अहिलेको खाँचो हो । ‘सहरमा विभेद हुँदैन, शिक्षित व्यक्तिबाट छुवाछूत हुँदैन, धनीमानीबाट हिंसा हुँदैन’ भन्ने अनेक कथा र भाष्य उत्पीडितका नजरमा कति सही छन् भन्ने जाँच्न पनि भुइँतहमा विमर्श हुनुपर्छ । र, भुइँतहकै उत्पीडितजनकै भोगाइ, संघर्ष र आशाका नयाँ कथा लेखिनुपर्छ । सहर–बजारमा सामाजिक सद्भावको सुकुलमुनि लुकाइएका, बेवास्ता गरिएका र अस्वीकार गरिएका दलितजनका कथा उनीहरू स्वयम्ले लेख्न सकेमा मात्रै जीवन्त हुनेछ । यही आशाका साथ जेएफएफको पहल बागमती प्रदेशमा पनि फैलाइएको हो, जसले ‘आफ्नो कथा आफै बुन्ने’ दलित चाहनालाई मूल अठोट बनाएको छ ।

यसका लागि सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका चिन्तक र सिर्जनशील व्यक्तित्वहरूसँग हातेमालो गरिएको छ । यही हातेमालोमार्फत् उनीहरूका ज्ञान, सीप र सामाजिक पुँजीलाई बढाउन पहल गरिने छ । यस पहलबाट सिर्जना हुने नयाँ कथाले धेरैजसो दलित महिलाका दुःख–पीडालाई मात्रै होइन, उनीहरूका दैनिक प्रतिरोधसँगै जीवनका सपना र अनेक आयामको खोजी गर्ने छन् । यो विभिन्न माध्ययमबाट जीवन–कथा भन्ने अनि सबैका लागि न्याय, आत्मसम्मान र समतामूलक समाज बनाउन सिर्जनात्मक हस्तक्षेप गर्ने एक प्रयास हो । हामी सबै सिक्न चाहन्छौं, सिकाउन चाहन्छौं, र न्यायपूर्ण समाज निर्माण गर्न चाहन्छौं ।

 पन्ध्र महिने ‘जस्ट फ्युचर्स फेलोलोसिप (जेएफएफ)’ बाट निम्नलिखित विषय सिक्न सकिन्छ :

 १. विषय–विज्ञको सहयोगबाट आफ्नो कथा आफै भन्ने–लेख्ने क्षमतामा तिखार्ने ।

२. जात–व्यवस्थामा आधारित विभेदबारे र दलित महिलाका संघर्षबारे कथा खोज्ने, सुन्ने र सुनाउने ।

३. जात–व्यवस्थाबारे ज्ञान बढाउने, आलोचनात्मक प्रश्न गर्ने र जातको प्रश्नबारे नयाँ ढंगले परिकल्पना गर्ने ।

४. आफूमा भएका प्रतिभा र क्षमतालाई खोतल्दै, स्वीकार गर्दै आफ्नो व्यक्तित्व विकास गर्ने ।

५. दलित महिलाको जीवन, सिर्जनशीलता र संघर्षको उत्सव मनाउने ।

६. अन्तर्राष्ट्रिय तहसम्म साथीसंगी बनाउँदै जात–व्यवस्थाबारे छलफल गर्ने र बहिन–वृत्ति सञ्जाल बनाउने ।

७. फेलोहरूसँग सहकार्य र समन्वय गर्दै भविष्यका सम्भावनाको ढोका खोल्ने ।

८. फेलोसिपको अन्त्यमा सामाजिक न्यायका लागि दलित कला तथा साहित्य महोत्सवमा विभिन्न माध्यमबाट फेलोहरूका कलाका प्रदर्शन गर्ने ।

 

 फेलोहरूका सुविधा र जिम्मेवारी के के हुन् ?

 १. मासिक १६ हजार रूपैयाँको दरले पन्ध्र महिनासम्म स्टाइपन्ड (वृत्ति) पाउने छन् ।

२. लगातार पन्ध्र महिनासम्म आवधिक रूपमा कार्यशालामा भाग लिनुपर्ने छ ।

३. कम्तीमा हप्ताको चार दिनको समय यो पहललाई दिनुपर्ने छ । कार्यशाला अनलाइनबाट, सामूहिक र व्यक्तिगत रुपबाट हुने छ ।

४. अध्ययन समूहमा सक्रिय रूपमा भाग लिनुपर्ने छ ।

५. फेलोसिपको अन्त्यमा समता फाउण्डेशनले फेलोहरूलाई प्रमाणपत्र प्रदान गर्ने छ ।

 

आवेदन फारम भर्ने लिकं : https://bit.ly/3TbWv8Z 

वेबसाइट लिकं: www.samatafoundation.org

फेसबुक : @Samata Foundation Nepal

फारम भर्न समस्या भएमा अडियो वा भिडियो रेकर्ड गरेर [email protected]  मा इमेल पनि गर्न सक्नुहुन्छ । थप बुझ्नु परेमा ०१५९०५७१७ / ९८६९६२१२४०/ ९८४४७९००९८/ ९८४७३८००७८ मा फोन गर्न सकिन्छ, इमेल वा ह्वाट्सएपमा सम्पर्क गर्न सक्नुहुन्छ वा समताको वेबसाइटमा हेर्न सक्नुहुन्छ । पहिलो चरणमा छनौट भएका आवेदकलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिने छ ।

आवेदन बुझाउने थप मिति : मङ्सिर १९, २०७९ (डिसेम्बर ५, २०२२)

 
 

Author