सरकार ! ‘दलित परामर्श केन्द्र’ खोलिदेऊ

Home / समाज / सरकार ! ‘दलित परामर्श केन्द्र’ खोलिदेऊ
सरकार ! ‘दलित परामर्श केन्द्र’ खोलिदेऊ

सरकार ! ‘दलित परामर्श केन्द्र’ खोलिदेऊ

सहरभित्रको दलन

कसैसँग पहिलोपटक भेट हुँदा सोधिने प्रश्न हुन्छ, ‘नाम के हो ? घर कहाँ हो ? थर के हो ?’ अनि म भन्छु, ‘नाम सुलोचना पञ्चकोटी ।’ तुरुन्तै प्रश्न आउँछ, ‘पहिलोपटक सुन्दै छु यो थर । पञ्चकोटी कुन जातिभित्र पर्छ ?’ त्यसपछि म रातोपिरो हुन्छु । उत्तर नदिई कुरा मोड्ने कोसिस गर्छु, अनि ती व्यक्तिसँग एकैछिन बोलेर बिदा हुन्छु । त्यसपछि ती व्यक्तिसँग भेट नहोस् भनेर मनमनै कामना गर्छु ।

गाउँघरमा विभेद हुन्छ भन्ने सुनेकी थिएँ, तर धेरै विश्वास नलाग्ला, विकसित भनिएको सहरभित्रै विभेद हुन्छ । तर, मैले त्यस्ता घटना धेरै भोगेकी छु । संविधानमा लेखिएको छुवाछुतविरुद्धको अधिकार कामै नलाग्ने भएको देखेपछि आज म सरकारको तर्फबाटै ‘दलित परामर्श केन्द्र’ खोल्नुपर्छ भन्ने निष्कर्षमा पुगेकी छु । म किन यो निष्कर्षमा पुगेँ ? मेरै जीवनमा घटेका केही घटना छन्, जसले मलाई यो निष्कर्षमा पुर्‍यायो ।

०००

हामी काठमाडौंमा हजुरबुबाको पालादेखि बस्दै आएका छौँ । बुबापट्टिको मूल घर पहिले कालिमाटी थियो रे ! ममीहरू पहिलेदेखि नै कमलपोखरीमा बस्नुहुन्थ्यो रे ! ममीको बाबा राणाको (बालकृष्ण शमशेर) घरमा लुगा सिउने काम गर्नुहुन्थ्यो रे ! राणाहरूले नै उहाँहरूलाई बस्न कोठा दिनुभएको थियो रे ! मेरो बाबा हजुरबुबाको पालादेखि बौद्धमा बस्दै आउनुभयो । हजुरबुबाचाहिँ कताबाट आउनुभएको थाहा भएन । काठमाडौंमा रैथाने पञ्चकोटीहरू तीन परिवार मात्रै छन् । पञ्चकोटीको कुलदेवता कालिमाटीमा छ । मलाई पुर्खाबारे यति मात्रै थाहा छ ।

मेरा बाबा र हजुरआमा गैरदलितको लुगा सिलाउनुहुन्थ्यो । त्यति वेला घरबाहिर बसेर सिलाउनुपथ्र्यो रे ! सिलाएको लुगा पनि छोइन्छ कि भनेर अलग्ग लिन्थे रे ! होटेलमा चिया खान जाँदा आफूले खाएको ग्लास आफैँले माझ्नुपथ्र्यो रे ! यस्ता विभेद मभन्दा अघिल्लो पुस्ताले भोग्नुपर्‍यो । उहाँहरूले भोग्नुपरेकाले विभेद छोराछोरीले भोग्नु नपरोस् भन्ने उहाँहरू चाहनुहुन्थ्यो । हामीलाई पढ्न लगाउनुभयो । घरमै स्कुल स्थापना भएपछि पढ्ने वातावरण घरमै मिल्यो ।

स्कुलमै हुँदा पनि छुवाछुतका घटना यदाकदा भोग्नुपर्‍यो । पञ्चकोटी थर भएकाले ‘पञ्चेबाजा’ भन्दै जिस्क्याउँथे । कक्षामा सबै जातजातिका साथी थिए, विशेषगरी तामाङ साथीहरू थिए । स्कुल सकेपछि र स्कुल बिदा हुँदा घरमै खेल्न आउँथे साथीहरू । हामी सँगै भाँडाकुटी खेल्थ्यौँ । तर, उनीहरूले मलाई कहिल्यै आफ्नो घर लगेनन् । एकपटक खेल्दाखेल्दै एकजना साथीको घर पुगेकी थिएँ । त्यही वेला साथीकी हजुरआमा आइन् । मेरा साथीहरू सबैजना कोठाभित्र पसे । म पनि कोठाभित्र पस्न लाग्दा ढोका बन्द गरिन् । म छक्क परेँ । त्यसपछि केही नभनी घर फर्किएँ । त्यति वेला थाहा पाएँ, म त अरूको घरमा पस्नै नमिल्ने जातको पो रहेछु ।

त्यसपछि बाबाले हामीलाई कहिले अरूको घर जान दिनुभएन । स्कुल छुट्टी भएपछि बाबाले गेट बन्द गर्दिनुहुन्थ्यो । मलाई घरबाहिर खेल्न जान मन लाग्थ्यो, तर जान पाउँदिन थिएँ ।मेरै घरको तामाङ छिमेकीको पसलमा पनि कतिपटक ढोकाबाटै सामान किनेकी छु । मैले छुन्छु भनेर हात माथि उठाएर समान दिन्थे । यी घटनाले मेरो बाल–मस्तिष्कमा धेरै असर पर्‍यो ।

म अलि ठूलो भएपछि एउटा साथीले अरू साथीहरूसँगै मलाई पनि घरभित्र लगी । पहिलोपटक कुनै अरू साथीको घरभित्र गएँ म । भोलिपल्ट स्कुलमा ती साथीले फुर्ती गर्दै गफ गरिरहेकी देखेँ । मलाई उसको घरमा लगेकोमा निकै ठूलो काम गरे जस्तै गफ गरिरहेकी थिई । त्यतिवेला महसुस भयो कि कथित तल्लो जातलाई घरभित्र छिराउनु पनि ठूलो साहसको काम पो रहेछ ।

मेरो एकदम मिल्ने साथी नेवारको घरमा बस्थी । धेरै मिल्ने भएकाले म उसको कोठामा जान्थेँ, ऊ मेरोमा आउँथी । हाम्रो आउने–जाने क्रम चलिरहेको थियो । एक दिन म उसको कोठामा गइरहेकी थिएँ । उसको घरबेटीले मेरो जात थाहा पाएछ । घरबेटीले मलाई घर पस्न नदिनू भनेको रहेछ । साथीले मलाई भन्न सकिन । उसको आमामार्फत मलाई भन्न लगाई ।

मेरो बाबाममी काठमाडौंमै हुर्किनुभयो । म पनि काठमाडौंमै हुर्किएँ । तर, हाम्रो घरमा दलित शब्द बुबाममीले कहिल्यै उच्चारण नै गर्नुभएन । बाबाममी हामीलाई त्यो शब्दबाट टाढै राख्न चाहनुहुन्थ्यो । तर, म शब्द उच्चारण नभए पनि बारम्बार विभेद भोगिरहन्थेँ । समाचारमा सुनिएजस्तो दलित भएकै कारण धारा छोइएको भन्दै कुटाइ खानुपरेन, बोक्सीको आरोपमा ममाथि कुटपिट भएन, तर मानसिक रूपमा भने सधैँ पीडित भइरहेँ । नदेखिने हिंसाको भने म सधैँ सिकार भइरहेँ । यसले मेरो मनमस्तिष्कमा धेरै असर पर्‍यो ।

सुरुसुरुमा मलाई भगवान्प्रति विश्वास लाग्थ्यो । पछि मैले बुझेँ, मैले विश्वास गर्ने भगवान्को मन्दिरमा त पस्नै नपाइने रहेछ । त्यसपछि मलाई भगवान्देखि एकदमै रिस उठ्न थाल्यो । म मन्दिर जानै छाडिदिएँ । आज पनि म घरमा भगवान्को नाममा कुनै बत्ती बाल्दिनँ, कुनै प्रार्थना पनि गर्दिनँ । हिन्दू समुदायमा जन्मेकोमा आफैँलाई आपत्ति छ, किनकि यही हिन्दू समाजले विभेद र छुवाछुत गर्ने छुट दिएको छ । म बौद्ध धर्मावलम्बीहरूको बाहुल्य भएको ठाउँमा जन्मेर पनि विभेद भोग्न बाध्य भएँ । हिन्दूधर्मको प्रभावले होला, बौद्ध धर्मावलम्बीहरूबाट समेत विभेद भोगेँ । त्यसैले लाग्छ, विभेद गराउने भगवान्लाई किन मान्नु !

परामर्श केन्द्रमा सिक्न पाइयोस्– दलित भएकै कारणले अवहेलना भोग्नुपर्दा कसरी जवाफ फर्काउने ? जनावरलाई झैँ अपशब्द प्रयोग गर्दा के गर्ने ? बोक्सीको आरोपमा गाउँनिकाला गर्दा के गर्ने ? कानुन, अड्डा–अदालत कथित उपल्लो जातिकै भएपछि दलितहरू कहाँ जाने ?

मान्छे नै मान्छेले भरिएको सहरको बीचमा छु । तर, साथी बनाउन डराउँछु । छुवाछुत भोग्नुपर्छ कि भनेर नयाँ साथी बनाउँदिनँ । कोही साथी भेट भइहाले नाम मात्रै भनिन्छ, थर र जातको कुरा निस्कनेबित्तिकै टाढिन्छु । कसैसँग धेरै बोल्न पनि मन लाग्दैन । किनकि मैले एउटा उखान सानैदेखि सुनेकी छु, ‘सानो जातको सानै बुद्धि हुन्छ ।’ यो शब्दले मलाई नयाँ ठाउँमा जानै दिँदैन । आफूलाई मनमा लागेको कुरा भन्नै दिँदैन । पढाइमा राम्रै भए पनि अरूभन्दा कमजोर नै छु जस्तो लागिरहन्छ । कोहीसँग खुलेर कुरा गर्न पनि सक्दिनँ ।

नेपालमा पढाइको सिलसिलामा मैले धेरै विभेद भोगेँ । विभेद नभोगेको कुनै समाज देखिनँ । मलाई यो समाजदेखि दिक्क लाग्न लाग्यो । यो समाज छाडेर कतै टाढा गएर पढ्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । त्यसैले ब्याचलर पढ्दापढ्दै देश नै छाडेर गएँ । ३ वर्ष विदेश बसेर फर्किएँ । बाबाममीबाट टाढा बस्न त कसलाई मन लाग्ला, तर मलाई समाजको विभेदले टाढा पुर्‍यायो ।

मैले भोगेको पीडा पोख्ने ठाउँ कतै छैन । घरमा यसबारे कुरा गरेर केही हुन्न । चलिआएको चलन रे, हामीले चाहेर फेर्ने सकिन्न भन्नुहुन्छ बाबाममी । यो विषय उठ्यो कि बाबालाई टाउको नै दुख्छ । यसबारे खासै बोल्नुहुन्न । नागरिकको अभिभावक राज्य हो भनिन्छ । देशमा संविधान नयाँ बनेको छ । संविधानको धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक र धारा ४० मा दलितको हक भनेर जातीय छुवाछुतविरुद्ध कडा कानुन पनि बनाइएको छ । तर, दलित समुदायले भोग्नुपरेको अवहेलना जस्ताको तस्तै छ ।

दलित मुक्तिको नारा दिएर धेरै संघसंस्था खुलेका छन् । जातीय छुवाछुतविरुद्ध उनीहरूले पैरवी गरिरहेका छन् । दलितबारे अनुसन्धान गरेर किताब छापेका छन् । दलित अधिकारकर्मी बोलेका बोल्यै छन् । तर, समाजमा विभेद जस्ताको तस्तै छ । कानुनको धारा फेर्दैमा मानिसका व्यवहार फेरिएका छैनन् । संविधानको धारा फेरेर पनि समाजबाट छुवाछुत हटेन । हामीले भोग्नुपर्ने पीडा अनगिन्ती छन् । विभेद भोगेपछि हामी मानसिक रूपमा विक्षिप्त हुन्छौँ ।

कैयन् दिनसम्म त्यो घटनाले असर गरिरहन्छ । त्यस्तो वेला हामीले कसलाई सोध्ने ? कहाँ पीडा पोख्ने ? आफूलाई परेको पीडा कहाँ देखाउने ? कसरी दिनचर्यालाई सहज बनाउने ? सरकारलाई मेरो अनुरोध छ– समाजबाट विभेद त हटाउन सकेनौ, अब विभेदमा परेर मानिसलाई मनोपरामर्श दिने ‘दलित परामर्श केन्द्र’ खोल । सरकारबाटै परामर्शदाता नियुक्ति गरियोस् । परामर्श केन्द्रमा मा सिक्न पाइयोस्– दलित भएकै कारणले अवहेलना भोग्नुपर्दा कसरी जवाफ फर्काउने ? सँगसँगै गाली गर्ने कि चुपचाप सहेर बस्ने, धारा छुन नदिँदा के गर्ने ? मन्दिरमा पस्न नदिँदा के गर्ने ? अनाहकमा पिट्न आउँदा के गर्ने ?

जनावरलाई झैँ अपशब्द प्रयोग गर्दा के गर्ने ? बोक्सीको आरोपमा गाउँनिकाला गर्दा के गर्ने ? विभेद भोगिसकेपछि कानुन, अड्डा, अदालत कथित उपल्लो जातिकै हुन्छ, त्यस्तो वेला दलितहरू कहाँ जाने ? स्थानीय तहले, पुलिस प्रशासनले दलितको मुद्दा लिन मान्दैन, त्यस्तो वेला कहाँ जाने ? राज्य र समाज कोही पनि आफ्नो नभएपछि दलितले आत्महत्या गर्ने कि के गर्ने ? यी सबैको परामर्श दिने एउटा निकाय खोलिदेऊ सरकार । यसलाई कुनै व्यंग्यको रूपमा नलिइयोस् । कानुनका धारा निकम्मा भएपछि मैले यही नै अन्तिम विकल्प देखेर सरकारलाई सुझाब दिएकी हुँ ।

यौनहिंसामा सिकार भएकालाई मनोपरामर्श दिइन्छ भने दलित भएकै कारण हिंसा भोग्न बाध्य हुनेलाई सल्लाह दिन किन नमिल्ने ? मजस्ता कैयौँ दलित समुदायका व्यक्ति छन्, जसलाई हौसला चाहिएको छ, तिमी कोहीभन्दा कम छैनौ भनेर उत्साह थपिदिने सल्लाहकार चाहिएको छ । छुवाछुत बेठीक छ, कोही पनि मान्छे जातका आधारमा सानो–ठूलो, छुत र अछुत हुँदैन भनेर सिकाउने शिक्षक चाहिएको छ ।

तपाईंलाई लाग्ला स्कुलबाट सिकाउनुपर्छ यस्तो शिक्षा । स्कुलबाट हुँदैन । त्यो मेरै अनुभवले भन्छ । किनकि स्कुलमा बच्चाहरूलाई अछुत भनेर पढाउँदा त्यही कक्षामा बल्ल–बल्ल पढ्न आइपुगेका दलित विद्यार्थीलाई उदाहरण मानेर पढाइन्छ । दोस्रो दिनदेखि ती दलित विद्यार्थी स्कुलमा कहिल्यै देखिँदैनन् । यस्तो विभेदको उजुरी कहाँ दिने ? कानुनको कुन धाराले यस्ता अदृश्य विभेदको उपचार गर्छ ?

दलित मञ्चमा सबैले आफ्नो अधिकारको बारेमा खुलेर बोल्छन्, गैरदलितले पनि साथ दिन्छन् तर व्यवहारमा लागू हुँदैन । दलितले छुवाछुतको कुरा गर्दा ‘दलितहरू आफैँले आफैँलाई सानो ठान्छन्, सानो सोचभन्दा माथि उठ्नुपर्‍यो, यो देशमा अरू धेरै समस्या छन्, वातावरणीय समस्या, वैदेशिक रोजगारको समस्या, स्वास्थ्यको समस्या इत्यादि छन् यसबारे सोच्नुपर्‍यो’ भनिन्छ । यसरी गम्भीर विषयलाई विषयान्तर गरिन्छ ।

यो सामन्य विषय होइन । एक्काइसौँ शताब्दीमा पनि नसुल्झिएका धेरै महत्वपूर्ण सवालमध्ये दलित सवाल पनि एक हो । यो विषयलाई सामान्य मानियो भने दलित भएकै कारण अन्तर्जातीय विवाह गर्दा मारिनुपर्ने, अन्तर्जातीय पे्रम गर्दा झुन्डिनुपर्ने, सामूहिक बलात्कारसँगै हत्या भएपछि न्याय नपाउने, बोक्सीको आरोपमा अपमानित हुनुपर्नेजस्ता गम्भीर अमानवीय घटनालाई पनि सामान्य मान्नुपर्छ । यी घटना हिन्दूधर्मको उपज भएकाले सधैँ विषयान्तर भइनैरहेका छन् ।

हिन्दू समाजको बाहुल्य भएको नेपालमा जातकै आधारमा अपमानित नभएकाहरू कमै होलान् । काठमाडौंमा पनि जात ढाँटेर बस्नेबाहेक प्रायजसो अपमान र तिरस्कारको गहिरो चोट बोकेर हिँड्न बाध्य छन् । शारीरिक चोट त कुनै न कुनै दिन निको हुन्छ, तर हृदयमा लागेको अपमान र तिरस्कारको चोट कहिल्यै निको हुँदैन । त्यसले मस्तिष्कमा बारम्बार चोट दिइरहन्छ ।

बाल्यकालमा भोगेको विभेदले जीवनभर दुखाइरहन्छ । हीनताबोधले डसिरहन्छ । दोस्रो दर्जाको नागरिक भएको महसुस भइरहन्छ । त्यसैले कुनै यस्तो निकाय होस्, जहाँ दलितहरू खुलेर आफ्नो पीडा राख्न सकून् । अपहेलनाको पीडाबाट बाहिर निस्कन सकून् । समाजमा शिर उँचो पारेर हिँड्ने हिम्मत मिलोस् । कोही पनि हीन भावना लिएर हिँड्न नपरोस् । कुनै पनि दलित बालबालिकाको मानसिक र बौद्धिक विकासमा असर नपरोस् । आफ्नो क्षमताले उँचो शिर गरेर समाजमा जोकोही पनि हिँड्न पाओस् । जात व्यवस्थाले जकडेको हिन्दू समाजमा कुनै पनि दलित आमाले बच्चा जन्माउनुअघि आफ्नो सन्तानले भोगेको विभेदको दृश्य कल्पना गर्न नपरोस् । त्यसैले सरकार ! खोलिदेऊ एउटा ‘दलित परामर्श केन्द्र’ ।