म संघर्षको मोर्चामा छु

म संघर्षको मोर्चामा छु

कविता

नश्लवादी श्वेत आतंकको
बुटले कुल्चेर
जब जर्ज फ्लोयडहरू मारिन्छन्
जब,
दक्षिणपन्थी धर्मभीरु अतिवादीहरू
पुँजीवादसँग साँठगाँठ गर्दै
मैमत्त भएर
आफ्ना विषालु नंग्राले
गरिब, सीमान्त जनलाई चिथोर्छन्
एक प्रकारको भैँचालोले
मेरो मन-मस्तिष्क हल्लिन्छ
म आन्दोलित हुन्छु।

annapurna post

भोकको कहरले
तड्पिएर मर्ने
सूर्यबहादुर तामाङ
जोद्धी गोडिया
मलर सदाहरू
तिम्रा क्वारेन्टिनरूपी मृत्युशालामा
उपचार नपाएर
छटपटाई प्राण त्याग गर्ने
राजु सदाहरू कति होलान् ?
अनि,
यातनागृह बनेका
तिम्रा हिरासतका कर्तुतहरू !

उफ् !
अहिलेसम्म
प्रेमको बदला मृत्यु दिने
तिम्रो जात अहंकारले
कैयौँ अजित अनि
नवराजहरूको हत्या गरेको छ
हुर्किनै नपाउँदै
उन्मत्त हिंस्रक यौन पिपासुहरूले
बलात्कार गरेर झुण्ड्याइएका
अंगीराहरू कति होलान् ?

तिम्रा कथित समाजवादी खोलभित्रका
हत्या शृंखलाहरूले
यतिबेला,
शरीरका नसा तातिएका छन्
मनको उद्वेगले
मथिंगल घुमेको छ
त्यसैले,
मेरा प्रियजनहरूको हत्यामा
म शोक धुनमात्रै बजाउनेछैन
म निदाउने पनि छैन
बरु,
शरीरमा एक मुठी सास रहुन्जेल
न्यायका निम्ति
तिम्रो जात-सत्ताविरुद्ध
र,
अझै पनि
यो गोल भूगोलमा
मान्छे हुन नसकेका
लाखौँ-करोडौँ
(अ)मान्छेहरूका निम्ति
म आन्दोलनको मैदानमा छु
संघर्षको अग्र मोर्चामा छु
किनकि,
तिम्रो हजारौँ वर्षको उत्पीडनले
मलाई प्रतिरोधी बनाएको छ।

त्यसैले,
हे मनु बाजे !
तिमीले रोपेको वर्ण विद्वेष
र,
त्यसको जगमा ठडिएको
वर्गभेदको पर्खालले
जबसम्म,
मेरो जिजीविषालाई
हरपल लखेट्न छाड्नेछैन
मेरो सपनामा
जबसम्म,
अरिंगालहरू
घात लगाउन आइरहनेछन्
तबसम्म,
मलाई संयमित बन्न उपदेश दिने
ओ मनुका दासहरू हो !
यो धर्ती
यो आकाशमा
मेरो बराबरी हक खोज्न
पुर्खामाथिको अत्याचारको बदलामा
अक्षरको हतियारमा धार लाउँदै छु
तिम्रो जात-सर्वोच्चतालाई
अब सहिन्न
दलनको जञ्जीर चुँडालिन्छ
किनकि,
म मान्छे हुन चाहन्छु
छुवाछूतमुक्त मानवबस्ती चाहन्छु
अविभेदी पृथ्वी चाहन्छु
त्यसैले, होसियार होऊ
नश्लीय जात-सत्ताका ठेकेदाहरू हो !
तिम्रो झुटका पुलिन्दा खुल्दै छन्
मैले चाहेको पृथ्वीका निम्ति
हजारौँ-हजार आन्दोलित मनहरू
तिम्रो जात-विरासतविरुद्ध
लामबद्ध भइसकेका छन्।